६ साउन, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष साउन १३ गते श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन उपकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाउन शास्त्र संवत् रहेको ठहर गर्दै सोही दिन दुवै पर्व मनाउनुपर्ने निर्णय गरेको छ ।
साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने सत्कर्म रत्नावली, निर्णय सिन्धु, कृत्यवाटिकालगायत ग्रन्थमा उल्लेख गरिएको समितिले आज जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सबै शास्त्रहरुको आधामार यो निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले नेपालदेशलाई जानकारी दिए ।
गोसाइँकुण्ड, कुम्भेश्वरलगायत कुण्ड एवं पोखरीमा लाग्ने स्नान मेला, जात्रा र नेवारी समुदायमा प्रचलित भ्यागुतालाई भात खुवाउने पर्व भने साउन २३ गते पूर्णिमाका दिन गर्न हुने समितिले जनाएको छ ।
चन्द्रग्रहण र संक्रान्तिका दिन श्रावण शुक्लपूर्णिमा परेमा उपाकर्म, ऋषि तर्पणी र रक्षाबन्धन पर्व नागपञ्चमीमा मनाउनुपर्ने शास्त्रीय वचन रहेको ढुङ्गेलले बताए।
यसअघि विसं १९६२, १९८२, २०२८ र २०४७ मा पनि श्रावण शुक्लपूर्णिमामा चन्द्रग्रहण लागेकाले नागपञ्चमीमा उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ ।












