६ साउन, काठमाडौं। देशको राजधानी काठमाडौंमा यातायात चालकले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढ्दै गउको छ । ट्राफिक प्रहरीले नियममा कडाइ गरे पनि उल्लंघन गर्नेको क्रम पनि कम भएको छैन । यो अवस्थालाई गत आर्थिक वर्ष कारवाही गरिएका सवारी साधनको संख्याले नै प्रष्ट पारेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ३९ हजार ६११ सवारीसाधनलाई कारबाही गरेको छ ।
महाशाखाले जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, हर्न निषेध पालना नगर्ने र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायतका शीर्षकमा उक्त सवारी कारबाहीमा परेका हुन् । तीमध्ये लेन अनुशासन पालना नगर्ने एक लाख ३१ हजार ५३३, जथाभावी पार्किङ २९ हजार ८०, मापसे सेवन गरी सवारी चलाउने २८ हजार ८९६ र नो हर्न पालना नगर्ने नौ हजार ६६३ कारबाहीमा परेका हुन् ।
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सवारीसाधनको सङ्ख्याको वृद्धिसँगै सवारीसाधन कारबाहीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको बताए । महाशाखाले आव २०७२÷७३ मा पाँच लाख ४८ हजार ७७० सवारीलाई कारबाही गरेको थियो ।
यस्तै, उपत्यकामा यो वर्षमा खाल्डाखुल्डीका कारण ११ दुर्घटना भएको पनि महाशाखाले जनाएको छ ।












