५ साउन, काठमाडौं । भारतको राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार रामनाथ कोविंद निर्वाचित भएका छन् । राष्ट्रपतीय निर्वाचनबाट प्रत्यासी कंग्रेस आईकी मीराकुमारलाई पछि पार्दै रामनाथ चौधौं राष्ट्रपति निर्वाचित भएका हुन् । रोचक के छ भने कोविंद र कुमार दुवै दलित समुदायका हुन्। दलित समुदायकै केआर नारायणन यसअघि राष्ट्रपति भइसकेका छन् ।
भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविदले विपक्षी कांग्रेस आई र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएका छन् ।
विहीबार सम्पन्न मतगणनामा राष्ट्रपतिका उम्मेदवार कोविदले ७ लाख २ हजार ४४ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी मीरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ भोट पाए। निर्वाचित राष्ट्रपति कोविदलाई ५ सय २२ सांसदले भोट गरेर समर्थन गरेका थिए भने मीरालाई २ सय २५ सांसदले समर्थन गरेर भोट दिएका थिए। समग्रमा रामनाथले ६६ प्रतिशत भोट पाए भने मीराले ३४ प्रतिशत मात्रै भोट पाइन्।
मतदानमा २१ सांसदको मत रद्द भउको थियो भने गोवा र गुजरातमा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनको पक्षमा क्रस भोटिङ भएको थियो। नवनिर्वाचित कोविदले यही महिनाको २५ तारिकमा राष्ट्रपति पदको शपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अत्यन्त सामान्य परिवारका कोविदलाई भाजपाले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्नुअघि उनका बारेमा धेरैले सुनेका थिएनन् । उनी आरएसएसका उपल्ला कोटीका कार्यकर्ताका रुपमा चिनिन्थे भने राष्ट्रपतिको उम्मेदवारी दिनुअघिसम्म विहार प्रदेशका राज्यपालको जिम्मेवारी सम्हालिरहेका थिए । कोविदको जन्म सन् १९४५ मा जन्म भएको थियो । एक गरिब परिवारमा जन्मेका कोविदले संघर्ष गर्दै अध्ययन गरेका थिए भने उनले सर्वोच्च अदालतमा वकिलको पेशा केही समय अँगालेका थिए ।
कोविदकी पत्नी सविता कोविद अवकाशप्राप्त सरकारी कर्मचारी हुन् । उनका एक छोरा र एक छोरी छन् ।












