५ साउन, काठमाडौं। सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय आयोग गठन गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आयोगका सदस्यमा माधव अधिकारी, डा विश्वकल्याण पराजुली र गणेशराज कार्की तथा सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका छन् ।
सरकारले आयोगलाई २१ दिनको समय दिएको छ । प्रदेश र संघको निर्वाचन सम्पन्न गर्नका निमित्त संवैधानिक व्यवस्थानुसार सरकारले आयोग गठन गरेको हो ।
यसैबीच मन्त्रीपरिषद् बैठकले मुख्यसचिव डा सोमलाल सुवेदीले दिएको राजीनामा स्वीकृत गर्नाका साथै अतिरिक्त दरबन्दीमा राखिएको उन पदलाई खारेज गरेको छ । ३ वर्ष बढी कार्यकाल देखाएर सुवेदीले बढी पेन्सन लिने दाउमा एसियाली विकास बैंकको जागिर खान गएका थिए । अत्यधिक आलोचना भएपछि सरकारले उनलाई अवकाश दिएको हो ।












