५ साउन, काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलले स्थानीय तहमा एमालेसँग पराजित हुनुको दोष एकअर्कालाई लगाउन थालेका छन् । देउवा र पौडेलबीच विहीबार पार्टीको एक कार्यक्रममा जुहारी चलेको हो । पार्टी नेतृत्वले टिकट दिएका व्यक्तिमाथि अन्तर्घात गरेर हराइएको भन्दै देउवाले कारवाही गर्ने चेतावनी दिए भने गुटउपगुटभन्दा माथि उठेर टिकट दिन सक्नुपर्ने भन्दै पौडेलले देउवामाथि आरोप जवाफ फर्काए ।
सभापति शेरबहादुर देउवाले निर्वाचनमा सबैले टिकट नपाउने उल्लेख गर्दै अन्तर्घात गर्नेलाई पार्टीभित्र अनुशासन समिति बनाएर तत्काल कारवाही गर्ने बताए ।
तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ‘छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै देउवाले भने “पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नबाट बञ्चित भएको छ ।”
आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन व्यक्तिगत स्वार्थ छोडी एक ढिक्का भएर लाग्न सबैलाई निर्देशन दिँदै उनले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि डेढ महिनाअघि नै उम्मेदवार चयन गरिसक्ने आश्वासन दिए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता पौडेलले सोही कार्यक्रममा देउवालाई जवाफ दिँदै गुटउपगुटभन्दा माथि उठेर टिकट दिनुपर्ने बताए ।
संविधान संशोधन प्रस्तावलाई देउवाले प्रक्रियामा नलगेकोप्रति असन्तुष्टि पौख्दै भने “मधेसको पक्ष र विपक्षमा को छ भन्ने प्रष्ट पार्नका लागि पनि संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्दछ, ।”
नेता पौडेलले पार्टीका स्थानीय संयन्त्रबाटै टिकट वितरण प्रक्रिया टुङ्ग्याउनुपर्नेमा जोड दिदैं पौडेलले काँग्रेस मधेसबाटै जन्मिएको पार्टी मधेसको चुनावपछि पुनः पहिलो पार्टी बन्ने दावी गरे ।
महामन्त्री डा शशांक कोइरालाले असन्तुष्ट नेता कार्यकर्तालाई प्रदेश र संघको निर्वाचनमा व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्ने बताउँदै अन्तिम समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि संशोधनको पक्षमा मतदान गर्ने आशा व्यक्त गरिन् ।














