५ साउन, काठमाडौं । स्थानीय चुनावका क्रममा ज्यान जोखिममा परेर बम समातेर फ्याँक्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षक असइमा बढुवा गरिएको छ । गृहमन्त्री जनार्दन शर्माले गरेको प्रतिबद्धताअनुसार रानालाई बढुवा गरिएको जनाइएको छ ।
रानाको बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिएका छन्। उत्कृष्ट कार्य गरे वापत रानाको बढुवा भएको खनालले बताए ।
असार १४ गते भएको दोस्रो चरणको चुनावको मतदानको दिन दाङको तुलसीपुर उपमहानगरपालिका ३ स्थित आधारभूत विद्यालय प्रतापकोटअन्तरगत अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो । हवल्दार रानाले त्यसलाई तत्काल सुरक्षित स्थानमा फालेर सम्भावित जनधनको क्षति हुनबाट जोगाएका थिए । उनले बम फ्याँकेको दुई सेकेण्डमै विष्फोट भएको थियो ।
त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले रानाको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए ।












