५ साउन, काठमाडौं । पार्टी फुट्नबाट जोगाउने उद्देश्यका साथ चलिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा शीर्ष नेताहरुले बहिष्कार गरेका कारण पार्टीको समस्या समाधान हुने कुरामा आशंका देखिएको छ । बुधबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक विहीबार पनि जारी छ ।
नयाँ बानेश्वरमा बुधबार शुरु भएको सो बैठक स्थान परिवर्तन गरी आज टङ्गालमा बसेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बिहान ८ बजे शुरु गरिएको सो बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा अनुपस्थित छन् । राणा वुधबार पनि बैठकमा अनुपस्थिति थिए ।
परिमार्जित संविधान संशोधनको पक्षमा नेताले सुझाव दिएको उक्त बैठकमा पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा पनि टुङ्गो लगाउने बताइएको छ ।
बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गरेको सांगठनिक अवस्था र भावी रणनीतिसम्बन्धी प्रतिवेदनका बारेमा छलफल शुरु भएको प्रवक्ता भुवन पाठकले बताए ।
शुक्रबारसम्म जारी रहने उक्त बैठकमा कोषाध्यक्ष उद्धव पौडेलले प्रस्तुत गरेको पार्टीको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनमा केन्द्रीय सदस्यले आ–आफ्ना धारणा तथा दृष्टिकोणका साथै सुझाव दिने बताइएको छ।












