४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा मधेस केन्द्रित दललाई संविधानको मूल प्रवाहमा ल्याउन परिमार्जनसहित पेश गरिएको संविधान संशोधन विधेयकको पक्षमा रहनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
नयाँ बानेश्वरमा आज वुधबारदेखि सुरु भएको केन्दीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले मधेसमा विखण्डनकारी शक्ति क्रियाशील हुँदै गइरहेको अवस्थामा मधेस केन्द्रित दललाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समेट्न सुझाएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा हिमाल, पहाड र मधेस जोडिएको प्रादेशिक संरचना देशको हितमा हुने विषयलाई उल्लेख गरिएको छ । राष्ट्रियताको संरक्षण र संवर्द्धन, हिन्दू राष्ट्र संवैधानिक राजसंस्थालगायत सिद्धान्तमा प्रतिबद्धता, संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने विषयलाई महत्त्व दिइएको छ । मुलुकको अन्तर्राष्ट्रिय सीमाको सुरक्षाको निमित्त पार्टीले सशक्त भूमिका निर्वाह गर्ने, निर्वाचन केन्द्रित कार्ययोजनालाई प्राथमिकतामा राखिने अध्यक्ष थापाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैठकमा पार्टीले हालै सम्पन्न निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको विषयमा महामन्त्री ध्रुवबहादुर प्रधानले तयार पारेको स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले साङ्गठनिक अवस्था र भावी रणनीतिबारे तयार गरेको प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले तयार गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
बैठकमा २० जना केन्द्रीय सदस्यले धारणा राखेको जानकारी नेता राजाराम श्रेष्ठका दिए । बैठक बिहीबार ८ बजेसम्मका लागि स्थगन गरिएको छ । सरकारमा सहभागिता जनाउने विषयमा समेत बैठकबाट टुङ्गो लगाइने राप्रपाले जनाएको छ ।












