४ साउन, काठमाडौं । वुधबार अर्थात् साउन ४ सम्ममा मन्त्रीपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनको सहमति समेत लागू भएन । त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिनाभन्दा बढी समयसम्म समेत उनले मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । यसो हुनुमा कहिले सत्तासाझेदार दलबीचको भागवण्डाको कुरा त कहिले कांग्रेसभित्रकै आन्तरिक समस्याको कुरा समाचारमा आउँछ ।
तर, मन्त्रीपरिषद् विस्तार हुन नसक्नुको अर्कै कारण भएको नयाँ रहस्य नेपालदेशडटकमलाई प्राप्त भएको छ । त्यो हो देउवा सरकार नै धरापमा पर्नु । सुन्दा अचम्म लाग्न सक्छ तर वास्तविकता त्यही हो कि जुन शक्तिले देउवा-प्रचण्डको गठबन्धन बनाइदियो त्यही शक्तिले यतिवेला सरकार परिवर्तन गरिनेदिने धम्की दिएको छ । यस्तो धम्की आउनुको अन्य कुनै कारण नभएर भारतले चाहेअनुसार नेपालको संविधान संशोधन नहुनु नै हो ।
भारतले राजपालाई अब चुनावमा जान आग्रह गरेको सतही विश्लेषण र अनुमान भैरहेका वेला त्यसको विपरीत सत्तारुढ दल कांग्रेस माओवादीले गरेको वाचा पूरा नगरेको भन्दै भारतीय गुप्तचर संस्थाले चेतावनी दिएको हो । अति गोप्य स्रोतबाट प्राप्त जानकारीअनुसार भारतले यही कुरा क्लियर गर्न प्रचण्डसँग थाइल्याण्ड भेट गरेको थियो । भारतीय स्रोत भन्छ – ‘पत्नीको उपचारका लागि थाइल्याण्ड गएका भनिएका प्रचण्डले त्यहाँ भारतीय संयन्त्रका प्रतिनिधिसँग भेट गरेका थिए ।’
कांग्रेस माओवादी गठबन्धनले स्थानीय चुनाव गरेर देशभित्र प्रशंसा पाइरहेको भए पनि भारत भने चिन्तित देखिएको हो । भारतको असन्तुष्टिलाई कांग्रेस माओवादी गठबन्धनको सरकारले खुम्च्याउँदै २ नम्बर प्रदेशमा सिमित गरेपछि भारतीय गुप्तचर संस्था रअ ले तीव्र असन्तुष्टि जनाउँदै दवावलाई बढाएको समेत स्रोतले बतायो । रअले नेपाल भारत सम्बन्ध विगार्न भूमिका खेलेको भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत असन्तुष्ट बनेको वेला रअले आफ्नो शक्ति देखाउन अन्तिम कसरत गरेको अर्को स्रोत बताउँछ ।
कुरा किन पनि स्पष्ट छ भने आन्तरिक भागवण्डाले मन्त्रीपरिषद् विस्तारमा यति जटील अवस्था सिर्जना हुने अनुमान गर्न पनि सकिँदैन । पार्टी सभापति भएको वर्षौंसम्म पनि पदाधिकारी मनोनयन नगरेरै पार्टी चलाउन सक्ने देउवाले आफ्नो निर्णय गरेर मन्त्रीपरिषद् विस्तार गर्न सकेनन् भन्नु हास्यास्पद कुरा मात्र हो । त्यसमा पनि उनले पार्टीभित्रका गुटको व्यवस्थापन गर्ने गरी भागवण्डा लगाइएसकेको पनि डेढ हप्ताभन्दा बढी भैसक्यो । माओवादीले समेत नयाँ बन्ने मन्त्रीको सूची तयार पारिसकेपछि प्रचण्ड थाइल्याण्ड हानिएका थिए ।
यो परिस्थितिसँगै एमाले र राजपाबीच नयाँ समीकरण बनेको कुरा पनि बाहिर आइसकेको छ । यसलाई एमाले अध्यक्ष केपी ओलीले समेत प्रष्ट पारिसकेको छन् । यसबाट सहजरुपले बुझ्न सकिने कुरा के हो भने भित्री रुपमा अर्कै खजाना पाक्दै छ ।













