४ साउन, ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फुटेर गएका सबै शक्तिसँग मिल्नुको विकल्प नभएको कुरा निर्वाचन परिणामबाट देखिएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा पराजय भोगेपछि प्रचण्डले मोहन वैद्य, नेत्रविक्रम चन्द र बाबुराम भट्टराईले नेतृत्व गरेका दलसँग आफ्नो दल नमिले निर्वाचनमा जीत हासिल गर्न नसकिने ठहर गरेका हुन् ।
ललितपुरको थासीखेलमा वुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अहिले चलिरहेको माओवादी केन्द्रको सचिवालय बैठकबाट फुटेर गएकाहरुसँग एकताका लागि विशेष प्रस्ताव पारित गर्ने जानकारी उनले दिए । पार्टीले प्रस्ताव पारित गरेपछि वैद्य, विप्लव र भट्टराईसँग एकताका लागि आफूले अपील गर्ने उनले बताए ।
स्थानीय तह चुनावमा माओवादी केन्द्रले अपेक्षित नतिजा ल्याउन नसक्नुको दोष जनतालाई नदिई नेता कार्यकर्ताले नै लिनुपर्ने धारणा प्रचण्डले व्यक्त गरे । यद्यपि उनले घुमाउरो पाराले राम्रो काम गर्ने दललाई भोट नदिएकोमा असन्तुष्टि समेत पोखे । माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम पनि गरेको तर मतदाताको मत अर्कै दलका लागि झरेको भनी उनले गुनासो गरे ।
यो अवस्थाका कारण माओवादीले संगठन बनाउनु नसक्नु र जनतालाई बुझाउन नसक्नुको कारणले आफ्नो दलको पराजय भएको निष्कर्ष प्रचण्डले सुनाए । उनले भने त्यही भएर माओवादी शक्ति एक हुनुको विकल्प छैन ।












