४ साउन, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने गरी आफ्नो दलको गोलाकारभित्र हसिया हथौडा चिह्न छापिदा मतदाताले मत चिह्नमा अल्मलिएको भन्दै जिल्ला इन्चार्जहरुले यस्तो माग गरेका हुन् । उनीहरुले मतदाता शिक्षाका क्रममा चुनाव चिह्नबारे प्रभावकारी रुपमा बताउन नसकेको भन्दै चिह्न नै बदल्नुपर्ने माग गरे, कान्तिपुरमा खबर छ ।
‘कम्युनिस्ट पार्टीको चिह्न भएकाले हामीले हसिया हथौडा छाड्न त नमिल्ने हो, तर मत परिणामको अन्तर हेर्दा २५–३० स्थानीय तह चिह्नकै कारण हारेको देखिन आयो,’ माओवादी केन्द्रका सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरुको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘नेकपा मालेले सायद आफ्नो चिह्न छाड्न नमान्ला, त्यसैले हाम्रोबारेमा सोच्ने हो कि भन्ने बहस आज उठेको छ ।’
नेता मणि थापाका अनुसार केही जिल्ला इन्चार्जले भने कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय चिह्न बदल्दा समर्थकहरुमा झन् नकारात्मक सन्देश जान सक्ने भन्दै बरु पर्याप्त मतदाता शिक्षा दिलाउन पार्टी पंक्ति परिचालित हुनुपर्ने फरक मत पेश गरे ।











