अभय राई
३ साउन, विराटनगर । विराटनगर महानगरपालिकाभित्र तालिम प्राप्त डकर्मीले मात्र अब घर निर्माण गर्न पाउने भएका छन् । महानगरपालिकाले साउनबाट नै लागू हुने गरी तालिमको प्रमाणपत्र लिएका डकर्मीले मात्र घर निर्माण गर्न पाउने नियम लगाएको हो । यसबाट भूकम्पप्रतिरोधी घर निर्माण गर्न सहयोग पुग्नुका साथै श्रमिकले बीचमै काम छाड्ने लगायतका समस्याबाट सर्वसाधारण मुक्त हुने दावी महानगरपालिकाले गरेको छ ।
महानगरपालिकाले यसका लागि विराटनगर र आसपासबाट गरी २ सय २० जना डकर्मीलाई पछिल्लो केही समयदेखि घरनिर्माणको तालिम दिँदै आएको छ । साउन महिनाबाट लागु हुने गरी ती तालिम प्राप्त डकर्मीको प्रमाण पत्र, लाइसेन्सका आधारमा सर्वसाधारणले आफ्नो घर निर्माण गर्न सक्ने महानगरपालिकाका घर नक्सा शाखा प्रमुख, इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
इन्जिनियर थापाका अनुसार लाइसेन्स प्राप्त डकर्मीलाई तालिमका क्रममा भूकम्पप्रतिरोधात्मक भवन निर्माणको ज्ञान, सही मापदण्डका विषयमा जानकारी गराइएको बताए । यस तालिमबाट खटिने डकर्मीले अब घरको निर्माणको अनुमति पाएको र जग्गा पास भएको हेरर मात्र निर्माण कार्य थाल्ने व्यवस्था गरिएको इन्जिनियर थापाको भनाइ छ ।
यद्यपि यसले तालिम प्राप्त डकर्मीबीच सिण्डिकेट सुरु हुनसक्ने भन्ने भनाइमा घर नक्सा शाखा प्रमुख इन्जिनियर थापाले त्यसका लागि महानगरपालिकाले समान दर रेट बनाउनेतर्फ कार्य गरिरहेको जानकारी दिए । तालिममा सहभागी भएकाहरुलाई एक एक साता गरी कुल ६ पटक तालिम दिइएको उनको भनाइ छ । उनकाअनुसार लाइसेन्स नहुने डकर्मीले अब घर निर्माणको जिम्मेवारी लिन पाउने छैनन् ।
तालिमका लागि सहभागी स्थानीय भवन निर्माण व्यवसायी संघका अध्यक्ष परशुराम राजवंशीले भने तालिम प्राप्त डकर्मीबाट घर बनाउँदा सर्वसाधारणलाई धेरै सहज हुने बताए । घर निर्माणका क्रममा हुने झञ्झट, ज्याला श्रमिक नआउने वा बीचमै काम छाडिदिने जस्ता समस्याबाट सर्वसाधारण मुक्त हुने दावी अध्यक्ष राजवंशीले गरे । तर, तालिमलाई कतिपय श्रमिकले भने नरुचाएको उनको भनाइ छ ।
हाल विराटनगर महानगरपालिका भित्र करिब १ हजारभन्दा बढीको संख्यामा घर निर्माणको जिम्मेवारी लिने श्रमिक रहेका छन् । उनीहरुलाई पनि विस्तारै तालिम दिएर काममा पुग्ने वातावरण बनाउन महानगरपालिका लागि परेको छ । हाल विराटनगरमा डकर्मी प्रमुखले दैनिक ८ सय देखि १ हजार रुपैयाँ ज्याला लिने गरेका छन् ।













