३ साउन, काठमाडौं । प्रमुख सत्तारुढ दल कांग्रेसभित्र मन्त्रीका आकांक्षी र आकर्षक मन्त्रालय ताक्नेको रस्साकस्सी बढेको छ । कांग्रेसभित्रको यही समस्याका कारण सरकार विस्तारमा ढिलाइ भैरहेको हो । पार्टी सभापति देउवाले गुटअनुसार मन्त्रालयको संख्याको भागवण्डा समेत तोकिसकेका छन् । गुटभित्रकै नेताहरुले नाम दिन नसक्दा देउवा भने अझै अलमलमा छन् । कांग्रेसभित्रका गुटभित्रबाट मन्त्री छान्न र तिनले ताकेका मन्त्रालयको बाँडफाँट मिलाउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समस्या परेको हो ।
प्रधानमन्त्री मन्त्रीपरिषद् विस्तार गर्दा देउवाले आफ्नो पक्षबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार, कृष्णप्रसाद सिटौला र खुमबहादुर पक्षलाई एक–एकजना मन्त्री बनाउने भनी संख्याको भागवण्डा लगाइसकेका छन् । गुटका नेतृत्वकर्ता नेताले भने अझै पनि मन्त्रालयको नाम र मन्त्री बन्नेको नाम बारम्बार फेरिरहेका छन् ।
पौडेल पक्षले भौतिक पूर्वाधारसहितका प्रभावशाली मन्त्रालयमा दाबी गरिरहेको छ । देउवाले मन्त्रालयबारे छलफल नै नगरेको भन्दै नेता पौडेलले आइतबार फेसबुकमा स्टाटस लेखेरै असन्तुष्टि पोखेका थिए । पौडेलले केही नेतालाई पुनः मन्त्रीमा दोहोर्याउने मनस्थितिमा छन् । तर प्रधानमन्त्री देउवाले भने यसपटक कसैलाई पनि नदोहो¥याउने बताएका छन् । फेरि मन्त्री दोहोर्याउँदा देउवा पक्षकै कतिपय नेताहरुको दवाव मिलाउन देउवालाई समस्या हुने देखिएको छ ।
पार्टीभित्रको यस्तो उल्झनका बीच पनि वुधबारसम्म सबै मन्त्रीलाई सपथ गराउने तयारमिा देउवा छन् ।












