२ साउन, काठमाडौं । साउनको पहिलो सोमबार आज विश्वकै प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथमा दुई लाख भक्तजनले दर्शन तथा पूजाअर्चना गरेका छन् । पशुपतिमा दर्शनार्थीसँगै विशेष पूजा गराउनेको समेत आज घुइँचो लागेको थियो । विशेष पूजा गराउनका लागि निश्चित शूल्क तिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार विशिष्ट व्यक्ति तथा चर्चित व्यक्तिहरुले समेत आज पशुपतिमा विशेष पूजा गरेका छन् ।
नेपाली मूलकी चर्चित बलिउड नायिका मनिषा कोइरालाले आज पशुपतिमा विशेष पूजा गरेकी छिन् । ११ हजार रुपैयाँ तिरेर गरिने लघु रुद्राभिषेकसहित विशेष पञ्चामृत पूजा कोइरालाले गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउनको पहिलो सोमबारका दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजन पनि बढेको थियो । आज पशुपतिनाथ मन्दिरमा २१० र वासुकी मन्दिरमा १०० भक्तजनले विशेष पूजा गरेको कोषले जनाएको छ । यो संख्या सामान्य दिन १०० र ५० को हाराहारीमा हुने गर्दछ।
पशुपतिनाथको मन्दिरमा साउनको सोमबार व्रत बस्ने महिला र बोलबम परम्परा मान्ने तीर्थयात्रीको घुइँचो थियो । बोलबम परम्परा विशेषगरी भारतमा कायम रहे पनि नेपालमा पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । सुन्दरीजलबाट पवित्र जल ल्याएर पशुपतिनाथलाई स्नाने कार्य बोलबम तीर्थयात्रीहरुले गरेका थिए ।












