१ साउन, काठमाडौँ । राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध आइतबार विशेष अदालतमा १० अर्बभन्दा बढी विगो मागदावी गरेर मुद्दा त दायर भयो तर त्योभन्दा माथिल्लो अदालत सर्वोच्चमा उनकी पत्नीले दायर गरेको मुद्दा भने सुनुवाई गर्दैमा सकिएको छ । संविधानविद् भनेर दावी गर्ने वकिलहरुको योजनाअनुसार शर्माकी पत्नीले पतिको रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
शर्माको आज सुनुवाइ भए पनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सोमबार पुनःसुनुवाइका लागि तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी दिएका छन् ।
अदालतका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरिरहेको छ ।
शर्माकी श्रीमती कल्पना उप्रेतीले अख्तियार र विशेष अदालतलाई विपक्षी बनाई गत मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पूँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फर्छ्र्यौट आयोगको सदस्य सचिव रहँदा रु २१ अर्ब बराबरको रकम कर मिननाहा गरेर भ्रष्ट्राचार गरेको ठहर अख्तियारले गरेको छ । जनताले तिरेको कर कम्पनीहरुलाई मिनाहा दिएर शर्माले भ्रष्ट्राचार गरेको सिधा रुपमा देखिने भनी पूर्वप्रशासक तथा अर्थविद्ले समेत बताउँदै आएका छन् । तर आफूलाई संविधानविद् भन्न रुचाउने वकिलहरु भने यतिवेला शर्मालाई उन्मुक्ति दिनका लागि शक्तिकेन्द्र धाउनेदेखि सम्बन्धित निकायमा प्रभाव पार्ने कसरतमा लागेका छन् ।












