१ साउन, रामेछाप । आफूलाई प्रहरी नायब महानिरीक्षक ९डिआइजी० भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।
नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई छाड्न दवाव दिँदै उनले प्रहरी नायब उपरीक्षक ढुङ्गेललाई फोन गर्दै आएका थिए ।
उमाकुण्ड गाउँपालिका–२ का दावा सोनाम शेर्पालाई सार्वजनिक अपराध मुद्दाअन्तर्गत गत असार ४ गते प्रहरीले पक्राउ गरेको थियो । शेर्पालाई छाड्न केसीले जिल्ला प्रहरी प्रमुख ढुङ्गेललाई लगातार फोन गरेर दबाब दिँदै आएका थिए ।
“म प्रहरी नायब महानिरीक्षक सुदीप आचार्य हुँ भन्दै लगातार फोन गर्न थाले,” ढुङ्गेलले भने । अनुसन्धानका क्रममा केसी नक्कली डिआइजी बनेर फोन गरेको भेट्टिएपछि उनलाई पक्राउ गरिएको ढुङ्गेलले बताए ।












