१ साउन, सिन्धुली । कमलामाई नगरपालिका– १ डाँडीगुराँसेबाट आइतवार एघार वर्षीय बालकको अपहरण भएको छ । बालकलाई बिहान करिब ८ः३० बजे घरै नजिकैबाट कसैले मोटरसाइकलमा राखी अपहरण गरेको बताइएको छ । कमलामाई– १ निवासी नीरबहादुर विश्वकर्माका छोरा निश्चल अपहरणमा परेको वडाध्यक्ष महेश खतिवडाले जानकारी दिए । नीलो लुगा लगाएका निश्चललाई कमलामाई–४ ढुङ्ग्रेबाससम्म ल्याएको थाहा हुनआएको वडाध्यक्ष खतिवडाले जानकारी दिए । अपहृत बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई जानकारी गराइएको उनले बताए । बालकलाई मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्रले जानकारी दिएका छन् ।
बालकलाई लगिएको स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । आवश्यक अनुसन्धानका लागि बालककी आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।














