१ साउन, वीरगञ्ज । राजपाको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा आफूहरु नरहेको बताएका छन् ।
वीरगञ्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको बताए । तर यसको उल्टो प्रचार गरी मधेस केन्द्रित दललाई बदनाम गर्ने प्रयास भएको दावी गरे । वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने विचार मात्र आफूहरुको रहेको ठाकुरले बताए ।
नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको दोहोर्याउँदै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे । निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उनकोभनाइ थियो ।
वीरगन्ज– २१ पटेल नगरका एक आगलागी पीडितको घरको आजै शिलान्यास गर्दै ठाकुरले देशमा प्रकृतिक विपत्ति आउँदा पूरै देश नै एक जुट भई पीडितलाई सहयोग गर्ने गरेको र यस्ता कार्यले राष्ट्रिय सद्भावलाई बलियो बनाएको धारणा व्यक्त गरे ।












