१ साउन, काठमाडौं । साउन महिना हिन्दूहरुका लागि विशेष महत्त्वको महिना हो । भगवान शिवको व्रत बस्ने महिनाको सोमबार विशेष महत्त्वको मानिन्छ । त्यसमा पनि ५ वटा सोमबार परेको साउन अझै शुभ मान्ने परम्परा छ । यसपल्टको साउन महिनामा ५ सोमबार परेका छन् ।
साउने संक्रान्तिको भोलिपल्ट साउन २ गते साउनको पहिलो सोमबार परेको छ । साउने संक्रान्तिलगत्तै सोमबार परेकोले नेपालका धार्मिकस्थलहरुमा दुई दिनसम्म लगातार मेला लाग्ने भएको छ । शिवमन्दिरहरुमा शनिबारदेखि नै बोलबम जानेहरुको चहलपहल छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा सोमबार जल चढाउनका लागि आइतबार नै बोलबम तीर्थयात्रीहरु काठमाडौंका विभिन्न पानीका मुहानतिर लागेका छन् । खासगरी पवित्र र स्वच्छ जल लिनका लागि बोलबम यात्रीहरुको घुइँचो सुन्दरीजल क्षेत्रमा लागेको छ ।
सुन्दरीजलमा आइतबार साँझ नै गएर बस्ने र विहानै जल ल्याएर महादेवलाई चढाउनका लागि बोलबम यात्रीको भीड सुन्दरीजल क्षेत्रमा लागेको हो । बोलबम यात्रीलाई बस्न तथा भोजन गराउन सुन्दरीजल क्षेत्रमा विभिन्न धार्मिक संघसंस्थाहरुले टेन्ट लगाउने तथा पानी र खानेकुराको व्यवस्था गरेका छन् ।













