१ साउन, चितवन । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला लागेको छ। आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने तीथयात्रीको घुइँचो लागेको हो । संक्रान्तिका अवसरमा तीर्थयात्रीहरुले बिहानैदेखि देवघाट पुगेर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने काम गरिरहेका छन् । सङ्क्रान्तिदेखि सुरु भएको मेला साउनमहिनाभरि नै लाग्ने गर्दछ ।
हिन्दू परम्पराअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् ।
साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भोलि सोमबार विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए । सोही मेलाका लागि आजैदेखि तयारी थालिएको उनको भनाइ छ ।
आइतबार साउने संक्रान्ति मेला शुरु भएको र सोमबारदेखि बोलबम मेला लाग्ने पौडेलले जानकारी दिए ।
देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका लागि समितिका सदस्य सोमनाथ अधिकारीको संयोजकत्वमा उपसमिति बनाएर बोलबम मेलाको तयारी गरेको छ ।












