१ साउन, रामेछाप । रामेछापमा बाढीले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने छतिवन र खिम्ती खोलामा आएको बाढीले पक्की पुलसहित नजिकैका दुई घर समेत बगाएको छ । घर बगाउँदा २ जनाको मृत्यु हुनुका साथै तीन जना बेपत्ता छन् ।
बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।
प्रहरीका अनुसार, इन्द्रबहादुर खत्रीको रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीको शव तामाकोसीको हलेदीमा फेला परेको छ । खत्रीको हराइरहेकी पत्नी भने भेटिएकी छैनन् ।
खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी बेपत्ता छन् ।
उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
यसैबीच खानीखोलामा आएको बाढीले पुष्पलाल मार्गको डाइभर्सनमा क्षति पुगेको छ भने खहरेको कटानका कारण खिम्ती बजार जोखिममा परेको छ ।












