३१ असार, काठमाडौं । नेपाल प्रहरीका ११ डिआइजी (प्रहरी नायब महानिरीक्षक)लाई एआइजी अर्थात् अतिक्ति महानिरीक्षकमा बढुवाका लागि गृहमन्त्रालयले सरकारलाई सिफारिस गरेको छ ।
बढुवाका लागि आफ्नो कासमू फाइल कीर्ते गरेको भनी सरकारले ठहर गरेका ‘ब्ल्याक लिस्टेड’ डीआइजी नवराज सिलवाल भने सिफारिशमा परेका छैनन् । तर, सरकारले महानिरीक्षक नियुक्त गरिसकेर पनि सर्वोच्च अदालतले निर्णय उल्ट्याई दिएका कारण डिआइजी पदमा रहेका जयबहादुर चन्द भने सिफारिशको दोस्रो नम्बरमा परेका छन् । सिफारिशको पहिलो नम्बरमा बमबहादुर भण्डारीको नाम छ । कुल प्राप्ताङ्कमा भण्डारीले चन्दलाई धेरै पछाडि पारेका छन् ।
आफू आइजिपी बन्नुपर्ने भन्दै दौडमा लागेका नवराज सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उनले दायर गरेका मुद्दाको उही दिन पेशी तोकेर उही दिन अन्तरिम आदेश दिने प्रधानन्याधीश सुशीला कार्कीले अवकाश पाइसकेकी छिन् भने सिलवालले कीर्ते गरेको कागजात सरकारले सर्वोच्च अदालतमा पेश गरेपछि यो मुद्दा त्यतिकै थन्किएको छ ।
बढुवा सिफारिस समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेकाहरुमा बमबहादुर भण्डारी प्रहरी प्रमुखका लागि सिफारिश भएका व्यक्ति हुन् ।
हेर्नुहोस् बढुवाका लागि ककसको नाम सिफारिश भएको छ :
त्यसैगरी, नेपाल प्रहरीका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्नसमेत सिफारिशगरिएको छ ।
बढुवा सिफारिश समितिले एसएसपी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवाका लागि सिफारिश गरेको छ ।













