३१ असार, काठमाडौं । दुई चरणको निर्वाचनमा कांग्रेस र एमालेभन्दा निकै पछि परेको माओवादी केन्द्रले तेस्रो चरणका निर्वाचनमा ती दुवै दललाई पछाडि पार्ने योजनाका साथ रणनीति सुरु गरेको छ । प्रदेश नं २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी’ गर्ने योजना माओवादीले बनाएको हो । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले मधेस झरेर निर्वाचन तयारी गर्ने माओवादी योजना छ ।
मधेसमा कांग्रेस–एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना माओवादीले बनाएको हो । विशिष्टिकृत योजना नबनाउँदा पार्टीले यसअगाडिका निर्वाचनमा पराजित हुनुपरेको ठहर माओवादीको छ । तर
यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश २ का इन्चार्ज मात्रिका यादवले जानकारी दिएका छन् ।
हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट–बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटिएका छन् ।
२ नम्बर प्रदेशमा एमाले ठूलो दल बन्न नसक्ने अनुमान भए पनि यतिवेला एमालेलाई कमजोर ठान्न नहुने ठहर माओवादीले गरेको छ । यो प्रदेशमा मधेसकेन्द्रित दलको पकड रहेको मानिए पनि दोस्रो चरणको निर्वाचनका क्रममा भने तराईका जिल्लामा पनि एमाले नै बलियो देखिएको थियो । कैलाली रुपन्देहीलगायतका जिल्लामा एमालेको विजयले माओवादी आश्चर्यचकित छ । बुटवलमा भने कांग्रेस माओवादी गठबन्धनलाई समेत एमालेले पराजित गरेको थियो ।












