३१ असार, रसुवा । १३ अर्बभन्दा बढी लगानीमा निर्माणाधीन उत्तरी रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ ।
आयोजनाका इञ्जिनियर नागेन्द्र ज्ञवालीका अनुसार १ सय ११ मेगावाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ ।
भूकम्पपछि २०७३ मंसिर १५ गतेदेखि पुनः काम शुरु भएको सबै निर्माणको कामअन्तर्गत मजदुरले राति पनि आलोपालो गरी पहराको चट्टान फुटाउने काम गरेको तथा आवश्यक पेट्रोलियम पदार्थ र निर्माण सामग्री वर्षायाम अगावै आयोजना निर्माणस्थलमा पु¥याइसकिएको जानकारी दिनुभयो ।
अबको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत् उत्पादन भई आयोजनाबाट वार्षिक रु साढे तीन अर्ब आय हुने अनुमान गरिएको प्रविधिज्ञले बताएका छन् ।
४ हजार २०० मि लामो सुरुङसहित सबै संरचना भूमिगत भएकाले भूक्षय, बाढीपहिरो र भूकम्पले कुनै असर नगर्ने बताइएको छ । आयोजना सम्पन्न गर्न लागत अनुमान रु १३ अर्ब ६४ करोड रहे पनि तुलनात्मक रुपमा केही प्रतिशत बढ्न सक्ने आयोजनाले जनाएको छ ।
रसुवागढी जलविद्युत आयोजनामा ५१ प्रतिशत संस्थापक सेयर र ४९ प्रतिशत सर्वसाधारण सेयर संरचना रहेको छ । संस्थापक सेयरमध्ये चिलिमे हाइड्रो पावरको मात्रै ३३ प्रतिशत सेयर छ । हेर्नुहोस् सेयर संरचना :















