३० असार, काठमाडौं । समाचारको शीर्षक पढ्दा अचम्म लाग्न सक्छ सरकारी कार्यालय पनि शनिबार खुला हुन्छन् र भन्ने । तर, यो सत्य हो कि चाह्यो भने सेवा दिनका लागि सरकारी कार्यालय समेत खोल्न सकिन्छ भन्ने उदाहरण दिएको छ सञ्चारमन्त्रालयअन्तर्गतको सूचना विभागले । के शनिबार के विदाको दिन, सधैँ निरन्तर जनताका लागि समाचार दिने पत्रकार र पत्रकारितासम्बन्धि संस्थाका लागि शनिबार पनि सूचना विभाग खुला रहने भएको हो । आर्थिक वर्षको अन्तिममा सञ्चार माध्यमले बुझाउनुपर्ने श्रमजिवी कर्मचारीको विवरण तथा सञ्चामाध्यमले लिनुपर्ने प्रमाणपत्रका लागि सुविधा प्रदान गर्न विभागका महानिर्देशक वीरबहादुर राईले शुक्रबार अपरान्ह यस्तो निर्णय गरेका हुन् ।
सञ्चारमाध्यमले आर्थिक वर्षको मसान्तसम्म आफ्नो सञ्चारगृहमा कार्यरत कर्मचारीको विवरण बुझाउनुपर्ने नियम छ । तर, आर्थिक वर्षको अन्तिम दिन शनिबारको विदा परेकोले सो दिन समेत कार्यालय सञ्चालन गरेर सञ्चार क्षेत्रलाई सुविधा प्रदान गरिने विभागका महानिर्देशक वीरबहादुर राईले नेपालदेशडटकमलाई जानकारी दिए ।
आर्थिक वर्षको अन्तिमसम्म विवरण बुझाउनुपर्ने नियम तीन वर्षपहिलेदेखि जारी गरिएको भए पनि अन्तिम तीन दिनमा मात्रै सञ्चारमाध्यमले चासो देखाएको सम्बन्धित शाखामा कार्यरत एक कर्मचारीले बताए । अन्तिम समयमा मात्रै नवीकरण गर्नेको सङ्ख्याका कारण शुक्रबार विभागमा अत्यधिक भिड देखिएको थियो ।
सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकारको विवरण बुझाउनेदेखि अनलाइन सञ्चारमाध्यमको प्रमाणपत्र लिनेहरुका कारण शुक्रबार विभागमा अत्यधिक भीड देखिएको हो । अनलाइन सञ्चारमाध्यमले लिनुपर्ने प्रमाणपत्रको व्यवस्था निर्देशिका जारी भएको साठी दिनभित्रका लागि तोकिएको भए पनि यसप्रति अनलाइन सञ्चारमाध्यमले समयमै चासो नदेखाउँदा निर्देशिका नै संशोधन गरिएको थियो । निर्देशिका संशोधन गरेर १२० दिनभित्र प्रमाणपत्र लिनुपर्ने प्रावधान तोकिँदा पनि सम्बन्धित सञ्चारमाध्यमले यसतर्फ चासो देखाएका थिएनन् । तर, आर्थिक वर्षको अन्तिमसम्म वुझाउनुपर्ने कर्मचारीको विवरण बुझाउन विभाग पुगेका अनलाइन सञ्चालकहरुले प्रमाणपत्र लिनुपर्ने अनिवार्य भएको कुरा थाहा पाएका थिए ।
गत चैत ७ गते जारी निर्देशिकाले तोकेको ६० दिन जेठ ४ गते नै समाप्त भएको थियो । यो अवधिमा चल्तीका अनलाइनले समेत प्रमाणपत्र लिएनन् । जसलाई समेट्न खोजिएको तिनै सञ्चारमाध्यम समावेश नभएपछि विभागका महानिर्देशककै पहलमा निर्देशिका संशोधन भएको थियो । नेपालदेशडटकमसँग महानिर्देशक राईले भने धेरैजसो अनलाइन गृहको गुनासोलाई आधार मान्दै मन्त्रीज्यूलाई विशेष अनुरोध गरी प्रक्रियासम्मत तरिकाले यो संशोधन गरिएको हो ।
निर्देशिका संशोधन गरेर मिति बढाएको समय समेत साउन २ मा समाप्त हुँदैछ । अनलाइन सञ्चारमाध्यमले साउन २ सम्म अनलाइन सञ्चालनको प्रमाणपत्र लिन चाहिँ सक्छन् तर अनलाइनमा कार्यरत कर्मचारीको विवरण बुझाउने मिति भने असार मसान्तसम्मका लागि मात्रै छ । प्रमाणपत्र नपाएसम्म कर्मचारीको विवरण समेत बुझाउन पाइँदैन । यही समस्यालाई समाधान गर्नका लागि असार मसान्त अर्थात्. असार ३१ गते शनिबारका दिन समेत सूचना विभागको कामकारवाही सुचारु गर्ने निर्णय गरिएको जानकारी महानिर्देशक राईले दिए ।













