३० असार, काठमाडौं । प्रधानन्याधीशका लागि सिफारिशहुनुपूर्व नागरिकताको उमेर सम्बन्धि विवाद खेपेका सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइका लागि एउटा पनि उजुरी परेको छैन । संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता नभएको हो । पराजुलीका विषयमा उजुरी दिने अन्तिम दिन गत बुधबारसम्म तोकिएको थियो ।
समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी माग्ने कार्यविधिअनुसार १० दिनको समय दिएर यही असार १९ देखि उजुरी माग गरेको थियो । एउटा पनि उजुरी नपरेपछि समितिले सुुनुवाइ प्रक्रिया अघि बढाउनेबारे प्रारम्भिक छलफलको बैठक शुक्रबार बिहान बसेको छ ।
नियुक्तिका लागि संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्नुपर्ने व्यक्तिले सर्वसाधारणका उजुरीको जवाफ दिनुपर्ने हुन्छ । त्यसबाहेक सांसदहरुले समेत नियुक्तिका लागि सिफरिश गरिएका व्यक्तिमाथि प्रश्न गर्दछन् । संसदीय सुनुवाइको प्रक्रियामा कुनै पनि व्यक्तिको नियुक्ति रोक्ने अभ्यास भएको छैन । केवल यो प्रक्रियाका रुपमा मात्रै देखिएको छ ।
सुनुवाइ समितिबाट पराजुलीको नाम पारित भएपछि उनी प्रधानन्यायधीशमा नियुक्त हुने छन् ।












