२८ असार, काठमाडौं । नेपाली भाषाका माध्यमबाट नेपाली जनतालाई एकतामा बाँध्ने कवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गते हो भन्ने कुरा आम नेपालीलाई थाहा छ । यो दिन देशभर भानुका सम्झनामा कार्यक्रम हुन्छन् । देशका कार्यकारी प्रमुखले विहानै भानुको शालिकमा फूलमाला लगाउने प्रचलन छ् । प्रज्ञाप्रतिष्ठानको परिसरमा भानुको शालिक स्थापना नहुँदासम्म प्रधानमन्त्रीले भानुको शालिकमा माला लगाउन दरबार स्कुलअगाडि पुग्थे । तर अब प्रधानमन्त्रीको त्यो पुरानो ‘रुटिङ’ फेरिएको छ ।
हो, असार २९ गते विहीबार विहान ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल प्रज्ञाप्रतिष्ठानको वगैँचामा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गर्न पुग्ने कार्यतालिका छ । प्रधानमन्त्रीको यो समयपूर्व नै साहित्यकारहरुले काठमाडौंमा प्रभातफेरि गर्ने कार्यक्रम रहेको भानु प्रतिष्ठानका अध्यक्ष डा. व्रतराज आचार्यले नेपालदेशडटकमलाई जानकारी दिए । प्रधानमन्त्री देउवाको विहीबारको पहिलो सार्वजनिक कार्यक्रम तालिका यही हो । भानुको शालिकमा माल्यार्पण गरेर मात्रै देउवाले असार २९ को दिन सुरु गर्नेछन् । नेपाली भाषा कार्यालयीय भाषा रहेको देशका कार्यकारी प्रमुखले आफ्नो एउटा दिनको सुरुवात भानुबाट गर्नुलाई भाषासेवी, साहित्यकार र आमनागरिकले गर्व महसुस गर्ने दिन हो ।
प्रधानमन्त्री देउवाले भानुको शालिकमा माला लगाउनुपहिले नै साहित्यकार र साहित्यप्रेमीहरुले प्रभातफेरि गर्नेछन् । विहान ७ बजेबाट सुरु हुने प्रभातफेरि प्रधानन्त्रीले माल्यार्पणको समयमा गएर टुङ्गिने भानु प्रतिष्ठानका अध्यक्ष आचार्यले बताए ।
विहीबार देशभरका विभिन्न साहित्यिक संस्था, शैक्षिक संस्था, विद्यालयलगायतमा भानुको स्मृतिमा कवितावाचन, पुरस्कार वितरण लगायतका कार्यक्रमहरु हुने गर्दछन् ।
तर त्यसबाहेक एउटा रमाइलो कार्यक्रम भानु प्रतिष्ठान र सांस्कृतिक संस्थानले गर्दैछन् । असार ३० गते शुक्रबारका दिन भानुका कविताको सांगितिक प्रस्तुति समेत हुँदै छ राष्ट्रिय नाचघरमा । जसको नाम दिइएको छ भानु संगीत लहरी ।
यसैबीच भानु प्रतिष्ठानले असार वुधबार भानुजयन्तीको पूर्वसन्ध्यामा राजधानीमा साहित्यिक दौड गरेको थियो । कवि माधव घिमिरेको लैनचौरस्थित निवासबाट सुरु भएको दौडमा विभिन्न कवि, भाषासेवी तथा नागरिहरु सहभागी भएका थिए । कवि घिमिरेको निवासबाट सुरु भएको दौड पाटनको दरवार क्षेत्रमा गएर समापन भएको थियो । दरबार क्षेत्रमा रहेको संस्कृतिविद् सत्यमोहन जोसीसम्म पुगेर दौड टुङ्ग्याइएको थियो ।
दौडमा भानुभक्तको रामयण हातमा लिएर काभ्रेपलाञ्चोकका ५५ वर्षीय साहित्यकार लक्ष्मण सापकोटाले दौडको नेतृत्व गरेका थिए ।
सापकोटा आगामी चैतमा ‘रामायण’ बोकेर सगरमाथाको आरोहण गर्ने तयारीमा छन् । उनले ६ हजार मिटर अग्ला हिमाल आरोहण गरिसकेका छन् ।













