२८ असार, काठमाडौं । मतदाता र कार्यकर्ताहरु नभएको मधेस केन्द्रित दल राजपामा नेताहरुको सङ्ख्या नै आश्चर्यलाग्दो देखिएको छ । ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीमा पदाधिकारीको संंख्या १३४ र केन्द्रीय सदस्यको संख्या ८१५ पुगेको हो । राजपाले पार्टी नाम दर्ता गर्नका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको विवरण अनुसार पदाधिकारीको संख्या १३४ र केन्द्रीय सदस्यको संख्या ८१५ उल्लेख गरेको हो ।
पहिलेका केही मधेसी दलबाट अनेक टुक्रमा विभाजित भएपछि फेरि जोडिएको राजपाले केन्द्रीय समितिको संख्या नै आश्चर्यलाग्दो बनाएको हो । केन्द्रीय सदस्यको संख्या धेरै बनाए पनि मधेसमा राजपाको जनाधार नभएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको परिणामले देखाएको छ ।
एकीकृत हुनुपूर्वको तमलोपा, सदभावना, रामसपा, तमसपा, नेसपा र फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य र पदाधिकारीहरु एकिकृत पार्टी राजपामा उही पदमा कायम छन् । पदाधिकारीको संख्या १३४ पुगेको बताइएको छ ।
दल दर्ताको प्रकृयाको क्रममा बुधबार राजपा नेताहरुले अन्य कागजातका साथ पार्टीको केन्द्रीय सदस्यहरुको नामावली बुझाएका पछि सो दलको पदाधिकारी संख्या र केन्द्रीय सदस्य संख्याको अवस्था बाहिर आएको हो।
राजपाका शीर्ष नेताहरु आयोगमा एक साता भित्र दोस्रोपटक पुगेका हुन् । ६ मधेसकेन्द्रित पार्टीहरु एकीकृत भएर गत बैशाख ८ गते राजपा पार्टी गठन गरेका थिए । तर मधेसमा जनाधार नभएका कारण राजपा निर्वाचनमा जान डराएर स्थानीय तहको निर्वाचनमा सहभागी भएको थिएन । उसैका कारण स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न भैसकेको छ । राजपा बाहुल्य क्षेत्र भनिएको दुई नम्बर प्रदेशमा समेत राजपा चुनावमा जान डराइरहेको छ । तर पछिल्लो समयमा निर्वाचनमा जाने मनस्थितिका साथ राजपा दल दर्तामा लागेको हो ।
अब भने निर्वाचनमा भाग लिने तीव्र मनसायका साथ राजपाको अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा सहितका नेताहरु आयोगको कार्यालय पुगेका थिए । कानुनअनुसार असार मसान्त भित्र राजपाले दल दर्ताको प्रमाणपत्र पाएमा मात्र आगामी निर्वाचनहरुमा राजपाले निर्वाचनमा भाग लिन पाउने छ । राजपाले छाता निर्वाचन चिह्न माग गरेको छ ।












