२८ असार, काठमाडौं । बहुचर्चित रानीवारी हत्याकाण्डका नाइकेलाई अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंले वुधबार रानीबारी हत्याकाण्डका दुई अभियुक्त मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो । उनीहरुमाथिको सुनुवाइ गर्दै न्यायाधीश रमेश प्रसाद रिजालले एकल इजलासले यस्तो सजाय तोकेको हो ।
झण्डै १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न मनराज र प्रमेश दुई वर्ष अघि पक्राउ परेका थिए । प्रहरीका अनुसार दुवै ‘कन्ट्राक्ट किलर’ हुन् । हत्याकाण्डका योजनाकार भने अझै पक्राउ परेका छैनन् ।
काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो ।
मनराज र प्रमेशले पैसा लिएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । योजनाकारले हत्या गर्न लगाएको व्यक्ति श्रेष्ठ दम्पती नभएर घरबेटी गीता खड्का थिइन् । खड्का म्यान पावर व्यवसायी हुन् ।
गीताको हत्याका लागि सुपारी लिएको मनराजको समूहले हेमन्त र अञ्जलीको हत्या गरेका थियो। उनीहरुले श्रेष्ठ दम्पतीकी सात वर्षकी छोरीलाई पनि खुकरी हानेका थिए । तर, उनी बाँच्न सफल भएकी थिइन् । घटनापछि गीता भागेर विदेश पुगेकी थिइन् र उनी अहिलेसम्म नेपाल फर्केकी छैनन् ।
श्रेष्ठ दम्पत्तिको हत्यापछि मनराज र प्रमेशले घरबेटी गीताको पनि हत्या गर्न खोजेका थिए तर, गीता शौचालयमा लुकेका कारण बचेकी थिइन् ।












