२८ असार, काठमाडौं । स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपर्नाका मुख्य ५ कारण रहेको निष्कर्ष सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निकालेको छ । निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि माओवादीले हेडक्वार्टरले पराजित हुनुका कारण पत्ता लगाएको हो । पार्टी अध्यक्ष प्रचण्डले गरेको विश्लेषण र अन्य नेताहरुले गरेको रिपोर्टिङका आधारमा माओवादीले आफ्नो संगठन कमजोर हुनुदेखि एमालेले पैसा बाँड्दा भण्डाफोर गर्न नसक्नु हार हुनुका कारण रहेको ठहर गरेको हो ।
गाउँगाउँमा सिंहदरबार, उज्यालो नेपाल आर्थिक बृद्धिदरलगायतका राम्रो काम गरेर पनि यसको सन्देश जनता समक्ष पुर्याउन नसक्नु हारको पहिलो कारण भएको माओवादीवादीको निष्कर्ष छ ।
पार्टीले अपेक्षा गरे अनुसारको नतिजा ल्याउन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुको ५ कारण प्रस्तुत गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो काम जनतासमक्ष पुर्याउन नसक्नु पार्टी एकता भए पनि संगठन सुदृढ नुहुन, केन्द्रीय कार्यालयले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्नु, एमालेले पैसा बाँड्दासमेत भण्डाफोर गर्न नसक्नु, प्रचारप्रसारमा पार्टी कमजोर हुनु नै निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेका थिए ।
निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको निष्कर्ष उनको थियो।
कतिपय स्थानमा जितिनेमा अति विश्वासका कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरुले जिकिर गरेका छन् ।
दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्ययोजनाका साउन २ मा माओवादी सचिवालय बैठककको तयारीका लागि मंगलबार हेडक्वार्टर बैठक बसेको थियो ।












