२७ असार, काठमाडौं । आफूलाई इमानदार र कर्तव्यनिष्ठ ठान्ने सरकारका मुख्य सचिवले पदीय दुरुपयोग कति गरेका होलान् भन्ने नयाँ बहसको विषय बनेको छ । सरकारको मुख्य सचिव पदमा बहाल रहेकै अवस्थामा उनले निजामति प्रशासनको सर्वोच्च पदको मर्यादाको धज्जी उडाउँदै विदेशी निकायमा जागिर खान गएका छन्, त्यो पनि पदबाट राजिनामा निदइकन ।
हुन त यसभन्दाअघिका मुख्य सचिवले पनि अवकाशपछि विदेशी निकायको जागिर नखाएका होइनन् । कर्मचारी संगठनको सत्तोसराप गर्ने कोइराला थरका पूर्वमुख्यसचिवले पनि वर्ल्ड बैंकको जागिर केही समय गरे । सरकारको सूचना बेचेका आधारमा उनलाई जागिर दिइएको थियो । तर अहिलेका मुख्य सचिवले त त्यति पनि धैर्यता नगरी एसियाली विकास बैंक एडीबीको जागिर पाएपछि पदबाट राजिनामा पनि नदिई त्यसको सुरुवात गरेका छन् ।
एडीबीको जागिर पाएपछिफिलिपिन्सको मनिला जान लागेका मुख्यसचिव डा. सोमलाल सुवेदी राजीनामा नदिई मंगलबार सिंहदरबारबाट विदा भएका कारण उनको निल्लर्जता देखिएको हो ।
गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् ।
सुवेदी साउन १ गतेदेखि एडीबी कार्यालयमा हाजिर हुने तयारीमा छन् । सोही तयारी अनुसार उनले मंगलबारदेखि आफ्नो दैनिक कार्यबाट विदा लिएका छन् । उनले काज विदा लिएका कारण सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ ।
निजामती सेवाअनुसार सरकारले अधिकतम तीन वर्षसम्म काज दिन सक्छ । एडीबीको जागिर अनुकुल नभए पुनः पदमा फर्किने दाउअनुसार उनले काज मिलाएको बताइन्छ ।
तर, नेपाल सरकारको मुख्यसचिव पद एउटा जागिरमात्र नभएर सरकारको प्रतिष्ठासँग पनि जोडिएको विषय हो । सो पदबाट राजीनामा नदिई सरकारको मुख्यसचिवले विदेशमा जागिर खान गएको सम्भवतः यो नेपालको इतिहासमै पहिलो घटना हो ।
मुख्यसचिव सुवेदीको यो रवैया सरकारले टुलुटुलु हेरेर बसिरहेको छ । व्यक्तित्व विकासको काम नेपाल सरकारको सुविधा उपभोग गरेर गर्ने र कर्मचारीको मनोबल गिर्ने गरी भएको सर्वोच्च पदमा आसिन निजामतिका हाकिमलाई कारवाही नगरे यो देशमा निजामति कर्मचारीको शीर कसरी उँचो रहन सक्ला ।












