२६ असार, काठमाडौं । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र धेरै पछाडि परे पनि एजेण्डामा माओवादीकै जीत भएको सो दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले बताएका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमालेलगायत जुनसुकै दल र उम्मेदवारले जिते पनि उनीहरुले माओवादीकै एजेण्डा जीतेको प्रचण्डले बताएका हुन् ।
अध्यक्ष दाहाल निवास लाजिम्पाटमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “ हामीले निर्वाचनमा अपेक्षाअनुसार विजय हासिल गर्न नसके पनि माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ । मुलुकले जितेको छ, यसैमा म खुसी छु ।”
स्थानीय तहको निर्वाचनमा जुन दलले जिते पनि काम भने माओवादी एजेण्डाअनुसार नै गर्नुपर्ने भएकाले स्थानीय तहमा जनताका पक्षमा काम गराउने वातावरण बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।
ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताउँदै प्रचण्डले माओवादी नेताहरु घर फर्किनुको विकल्प नभएको बताए । प्रचण्डले बाबुराम भट्टराईलाई छिट्टै फर्कन आग्रह गर्दै उनको दलका सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ नहुने बताए ।
प्रचण्ड निवासमा पूर्वसभासद एवम् नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहितका करिब ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेतामा नेकपा एमालेका रौतहट जिल्ला समिति सदस्य एवम् पूर्वगाविस अध्यक्ष गौरीशङ्कर जयसवाल, नेकपाका रौतहट सचिव नन्दलाल ठाकुरलगायत छन् ।













