२५ असार, झापा । आफ्नै गृहजिल्ला झापामा एमालेको विजोग भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हराउनेमाथि आक्रोस पोखेका छन् । ओलीको गृहजिल्ला झापामा एमालेले स्थानीय चुनावमा राम्रो परिणाम ल्यान नसकेको मात्र होइन उनको दलका पार्टी अध्यक्ष नै पराजित हुन पुगे । झापाका १५ स्थानीय तहमध्ये एमालेले ६ स्थानमा मात्र प्रमुख पद जितेको छ । आफ्नै जिल्लामा एमाले कमजोर हुँदा पार्टीभित्र उनको आलोचना भएको छ ।
आइतबार झापा पुगेका ओलीले आफ्नो कमजोरीका कारण एमाले हार्नुपरेको सोचेनन् बरु उनले आफ्नै दलका नेता कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिए । ओलीले झापाको चुनावी परिणामप्रति पनि असन्तुष्टि जनाउँदै आक्रोस पोखे ।
दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले हार्नुमा एमालेभित्रकै अन्तर्घात प्रमुख कारण बनेको बताए । त्यस्ता अन्तर्घातीलाई पार्टीमा कारवाही गर्ने चेतावनी उनको थियो ।
झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक नै बुद्धशान्ति गाउँपालिकामा पराजित भएको र सचिव मदन अधिकारी एमालेको गढ गौरादहमा पराजित भएकोप्रति ओली आक्रोसित बनेका थिए ।
निर्वाचनमा विजयीहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान संशोधन कुनै हालतमा हुन नदिने चेतावनी दिए । विदेशीले डिजाइन गरेको संविधान संशोधनको प्रस्ताव कुनै हालतमा पास हुन नदिने उनले दोहोर्याए ।












