२४ असार, इलाम । नेपालमा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । गर्भपतनले कानुनी मान्यता पाएको केही वर्षपछि गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।
इलामा जिल्लामा मात्रै आर्थिक वर्ष ०७१/०७२ मा ४५४ महिलाले गर्भपतन गराएकोमा आव ०७२/०७३ मा यसमा वृद्धि भई एक १ पुगेको हो । चालु आवको पहिलो १० महिनामा नौ सय २५ महिलाले सुरक्षित ढङ्गबाट गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
इलाम अस्पतालसहित जिल्लाभरी १८ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाहेक मेरीस्टोप्स सेन्टर, नेपाल परिवार नियोजन सङ्घले पनि गर्भपतन सेवा प्रवाह गरिरहेका छन् । असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यानै समेत जाने भएकाले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्नु भनेको यस क्षेत्रका महिलामा सुरक्षित गर्भपतन सम्बन्धी चेतना बढ्नु हो, जनस्वास्थ्य प्रमुख मल्लले बताए ।
नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ ।
पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशूल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको जनाएको छ ।














