२४ असार, २०७४ । चुनावका वेला जसले बढी जनतालाई नारा दिएर आकर्षित गर्न सक्यो त्यति नै भोट आउने स्वभाविक अवस्था नेपालको चुनावमा छँदै छ । त्यसमा पनि विकासको काम गर्नेभन्दा पनि सस्तो लोकप्रियताका काम गरेर भोट बटुल्ने नेपाली दलको परिपाटी नै छ । आफूले गरेको प्रचार मात्र ठीक प्रतिश्पर्धी दलले गरेको प्रचार बेठीक वा दुष्प्रचार भन्ने कुरा बहुदलीय प्रतिश्पर्धामा सामान्य नै हुन्छन् ।
तर उखानटुक्कामा आफूलाई अब्बल नेताका रुपमा उभ्याएका एमाले अध्यक्ष केपी ओलीले शनिबार भने अझै फरक र अनौठो कुरा गरेका छन् । दुवै चरणको स्थानीय निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जितर ठूलो दल एमाले बनेको अवस्थामा उनले भने चुनावी दुष्प्रचार र दुष्प्रभाव रोक्न नकेको कारण एमालेले यस्तो परिणाम ल्याएको बताएका हुन् । प्रतिश्पर्धी दलको दुष्प्रचारले आफ्नो दलको चुनावी परिणाम यस्तो भएको बताए । स्मरणीय छ पहिलो र दोस्रो दुवै चरणमा एमालेले सबैभन्दा बढी स्थानमा जितेको छ ।
विराटनगरमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘आफू आश्चार्यमा परेको छु अहिलेको समयमा त्यस्तो खस्किँदो अवस्थामा रहेको कांग्रेसले कसरी त्यति धेरै ठाउमा जित्यो ।’ आफूहरुले जनतालाई राम्ररी बुझाउन नसकेकोले नै कांग्रेसले यति धेरै सिट जितेको उनले बताए । दोस्रो चरणको निर्वाचनमा धनकुटा बाहेकको जिल्लाको परिणामबाट आफू सन्तुष्ट नभएको उनले बताए ।
प्रतिश्पर्धी दल कांग्रेसले दुष्प्रचार र दुष्प्रभाव फैलाएर धेरै स्थानमा जितेको दावी उनले गरे । कांग्रेस र अन्य प्रतिश्पर्धी दलको दुष्प्रचार र दुष्प्रभावलाई एमालेले रोक्न नसकेकाले आफूले सोचे जस्तो सिट एमालेले जित्न नसकेको दावी ओलीले गरे । उनले अब तेस्रो चरणमा २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ५० प्रतिशत भन्दा बढी तहमा जित्ने दावी उनको थियो ।।
ओलीले सरकार, सत्तापक्ष गठबन्धनले प्रदेश र केन्द्रको निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाए । उनले आफूहरु पहिलेदेखि नै मधेसवादी दलसँग नजिक हुन खोजेको तर अहिले बल्ल त्यो भइरहेको खुलासा गरेका थिए ।












