२४ असार, २०७४ । भारतको पश्चिम बंगाल क्षेत्रमा गार्खाल्याण्ड आन्दोलन चलिरहेका वेला दुई गोर्खाको हत्या भएपछि त्यस क्षेत्र शनिबार झन् तनावग्रस्त बनेको छ । दार्जिलिङमा गएराति एक युवाको सुरक्षाकर्मीले हत्या गरेको भन्दै शनिबार चर्किएको प्रदर्शनमा थप एक आन्दोलनकारीको गोली लागि मृत्यु भएको छ । नेपाली भाषी भारतीय बहुल पश्चिम बंगालको दार्जिलिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र शनिबार दिनभर तनावग्रस्त बनेको छ ।
सीआरपीएफको गोलीबाट दार्जिलिङ सोनादामा शुक्रबार राति स्थानीय युवा टासी भुटियाको मृत्यु भएको थियो । उनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा कार्यकर्ता थिए । विरामी भाइलाई औषधि किन्न बजार जाँ गर्दा सीआरपीएफले उनीमाथि गोली चलाएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दावी गरेको छ।
भुटियाको मृत्युको घटनाले शनिबार दिनभर दार्जिलिङ, भुटियाको हत्या घटनाको विरोधमा दार्जिलिङका विभिन्न स्थानमा भएको तोडफोड तथा भीडन्त भएको छ । सुरक्षाकर्मीको भिडन्तमा थप एक युवाको मारिएका छन् ।
दार्जिलिङमा सुरक्षाकर्मीसँगको झडपमा तुङसुङ निवासी ३७ वर्षीय सुरज सुन्दासको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । सुरक्षाकर्मीको गोलीबाट १२ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।













