२३ असार, काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेस हार्नुको कारण वरिष्ठ नेता रामचन्द्र पौडेललेले पत्ता लगाएका छन् । पार्टीमा पहिलेजस्तो प्रेरक व्यक्तित्व नहुँदा अहिलेको चुनावमा कांग्रेसलाई घाटा भएको पौडेलको दावी छ ।
जिपी कोइराला श्रम प्रतिष्ठानले आज कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९४ जन्मोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले गिरिजाप्रसादजस्ता व्यक्तित्वको कमीले कांग्रेसको अहिलेको स्थिति आएको विचार व्यक्त गरे ।
पौडेलले शान्ति र क्रान्तिलाई मिलाएर अघि बढाउन सक्ने नायक गिरिजाबाबु मात्र भएको उल्लेख गर्दै दुई विषयलाई मिलाएर जीवनपर्यन्त अनवरत रुपमा पार्टी, प्रजातन्त्र र लोकतन्त्रका लागि काम गरेको स्मरण गरे ।
नेता पौडेलले स्थानीय निर्वाचनमा जनताबाट कांग्रेसले आफूलाई सुधार्नुपर्ने सन्देश पाएकाले काँग्रेसलाई सही ट्र्याकमा ल्याउन आवश्यक रहेको बताए । पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै देउवा बिपी बन्न खोजेकोले पार्टीको यो गति भएको उल्लेख गरे । उनले भने, “अहिले सबै बिपी कोइराला हुन खोजिरहेको देखिन्छ तर उहाँलाई साँच्चिकै बिपी बनाउन सहयोग गर्ने सुर्वण शमशेर र जिपी बन्न कोही नखोज्ने कारणले पार्टीमा समस्या देखिरहेको छ, पार्टी पुनःपहिलेकै अवस्थामा फर्काउन सामूहिक रुपमा लाग्नुपर्छ ।”
पौडेलको यो भनाइमा देउवालाई आफूले सहयोग गरेकोमा मूल्याङन नभएको गुनासोसहित देउवा आफूलाई दोस्रो व्यक्ति नठान्ने घमण्डले पार्टीले हार व्यहोर्नुपरेको कुरा अन्तरनिहित थियो ।
शेरबहादुर देउवाले पार्टीको महाधिवेशनदेखि नै आफूलाई बिपी कोइरालासँग तुलना गर्दै आइहेका छन् । राजाले बिपीलाई जसरी थुने मलाई पनि त्यसरी नै थुने भन्दै देउवाले आफ्नो राजाले लगाएको अक्षम आरोपलाई नै महाधिवेशनमा क्यास गरेका थिए ।












