२३ असार, काठमाडौँ । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले आगामी कात्तिक २१ गतेदेखि सेयरसम्बन्धि सम्पूर्ण कारोबार घरमै बसेर अनलाइन प्रणालीमार्फन गर्न सकिने जनाएको छ । नेप्सेले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएको हो ।
आफ्नो कार्यकाल सकेर बिदा हुन लागेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले सेयर बजार पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया सुरु गरिएको र हाल परीक्षणमा रहेको बताए ।
नेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणालीको स्थापनाका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार वाईको कम्पनीसँग २०७२ फागुनमा सम्झौता गरेको थियो । प्रमुख कार्यकारी अधिकृत थपलियाले सूचीकृत धितोपत्रको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको, ग्रामीण क्षेत्रमा ब्रोकर शाखा विस्तार गरिएको र कागजी धितोपत्र कारोबारेको अन्त्यसँगै झापाको बिर्तामोड कैलालीको धनगढी बाग्लुङ र लम्जुङको बेँसीसहरसम्म लगानीकर्ताको पहुँच विस्तार गरिएको जानकारी दिए ।












