२३ असार, सप्तरी । दुःखमा औपचारिक व्यवहार नगर्ने हिन्दू परम्परा नै छ । यतिसम्मका मानिस दुःखमा परेका वेला बेला कोही भेट्न गयो भने नमस्कारको आदानप्रदानलाई समेत उचित मानिँदैन । तर हाम्रा नेताहरु भने जस्तो दुःख हेर्न गए पनि उनीहरुका लागि फूलमाला र सम्मान नै चाहिन्छ ।
त्यस्तै एउटा पछिल्लो उदाहरण देखाएका छन् प्रधानमन्त्री शेरबहादुर देउवाले । शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न हेलिकोप्टरबाट पुगेका देउवा फूलमालाले सजिए । बाढी र डुवानले पीडित बनेका जनतालाई भेट्न गएका देउवा गलामा माला लगाएर त्यहाँ पुग्नु आलोचनाको विषय बनेको छ ।
गृहमन्त्री जनार्दन शर्मालाई लिएर हेलिकोप्टरबाट आएका उनले बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने बताए ।
हुन त माला लगाउने योजना देउवा आफ्नै नहुन पनि सक्छ । उनकै दलका हनुमानहरुले चाकडीको लागि पनि मालाले नै स्वागत गरेका हुनसक्छन् । तर यस्तो प्रवृत्तिलाई देउवाले निरुत्साहित गर्नुपर्ने हो त्यो गरेनन् ।
प्रधानमन्त्री देउवाले सप्तरी पुगेर राहतको घोषणा समेत गरेका छन् । बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने र १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाउने प्रधानमन्त्री देउवाले बताएका छन् । पीडितहरुका लागि तत्कालीन रुपमा खानाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका थिए ।
प्रधानमन्त्रीले देउवाले तिरहुत गाउँपालिकाको लोहजारा बाँधको समेत अवलोकन गरेका थिए । महोली खोलाको बाढीले यो बाँध भत्काएको छ ।













