२३ असार, चीन । भारतसँग सीमा विवाद चलिरहेकै बेला चीनले भारतसँगको सीमा क्षेत्रमा सैन्य अभ्यास तीब्र बनाएको छ । भारतलाई १९६२ को पाठ सिकाउने चेतावनी दिँदै आएको चीनले सैन्य गतिविधि बढाएको हो । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाकाअनुसार यो अभ्यास ५१०० मिटरको उचाईमा गरिरहेको हो । यो अभ्यासमा चीनले आफ्नो सबैभन्दा आधुनिक ट्याङ्क (टाइप ९६बी)को परीक्षण गरिरहेको बताइएको छ। सीमा क्षेत्रमा नयाँनयाँ उपकरणको परीक्षणका साथै अभ्यासमा युद्ध कमाण्ड, युद्धमा सहयोग, गोली प्रहार र शस्त्रको निगरानीजस्ता गतिविधि भइरहेका छन्। गत साता चीनको रक्षा विभागका प्रवक्ता कर्नेल वु किनले सैन्य अभ्यासका क्रममा करिब ३५ टन तौल भएको ट्याङक परीक्षण गरेको बताएका थिए । चिनियाँ समाचारपत्रहरुले सैन्य अभ्यासका तस्वीरहरुसमेत प्राथमिकताका साथ प्रकाशन गरेका छन् । चीनले भारतीय सैनिकलाई सीमा क्षेत्रबाट पछि हटाउन निरन्तर दवाव दिँदै आएको छ।

सन् १९६२ मा भारत र चीनबीचको युद्धका कारण बन्द भएको नाथुला पास ६ जुलाई २००६ मा पुनः खुल्यो । सिक्किमसँग यही सीमाबाट भारत र चीनबीच व्यापार हुने गर्दथ्यो । भारतले कपडा, साबुन, तेल, सिमेन्ट र यहाँसम्म कि स्कुटरसमेत तिब्बत पठाउने गर्दथ्यो ।
गान्तोकदेखि तिब्बतको राजधानी ल्हासासम्म २० देखि २५ दिनको यात्रा हुने गर्दथ्यो । खाद्यान्न लगाएतका सामान भारतबाट तिब्बत लगिन्थ्यो र तिब्बतबाट रेशम, उन, मदिरा, मूल्यावान पत्थर, सुन, चाँदी, भाँडाकुँडाजस्ता सामान भारत ल्याइने गरिन्थ्यो । ६ जुलाई २००६ मा नाथुला पास पुनः खुल्न त खुल्यो तर यसको पुरानो रौनक भने पुनः फिरेन । न त दुई देशबीचको सम्बन्ध नै पहिलाजस्तो कारोबारी रुपमा राम्रो नै हुन सक्यो । भारत र तीनबीच सीमाका अलग अलग भागमा अहिले पनि विवाद चलिरहेको छ । सीमा विवादका कारण अहिले पनि भारत र चीन आरोप प्रत्यारोपमा छन् । अविश्वास बढ्दो छ ।
यही विवाद चलिरहेकै बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिंगबीच भेट हुने कार्यक्रम छ। चुलिँदो विवादकाबीच हुने भेटलाई विश्वले महत्वका साथ हेरिरहेको छ । जर्मनीको हैबर्गमा हुने जी–२० शिखर सम्मेलनका क्रममा दुई देशका प्रमुख नेताबीच भेट हुन लागेको हो । दुई नेताबीचको भेटमा यो विषयले प्रवेश पाउने अनुमान गरिएको छ ।











