कैलाली- मतदाताले मेयर र उपमेयर पदमा मत नदिएर खाली छाडेका मतपत्र ठूलो संख्यामा फेला परेका छन्। धनगढी उपमहानगरपालिकामा बिहीबारसम्मको मतगणनाअनुसार ३८ हजार १ सय ८८ मत गणना हुँदा मेयर पदमा १ हजार ८ सय ६७ मतपत्र खाली फेला परेका छन् भने उपमेयरमा ४ हजार ९ सय ३८ मतपत्र खाली रहेका छन्। यी खाली मत कुल मतपत्रमध्ये मेयरमा करिब ५ प्रतिशत र उपमेयरमा १२ प्रतिशतभन्दा बढी हुन्। अन्य मुलुकको जस्तो ‘राइट टु रिजेक्ट’ नभएकाले मन नपरेका उम्मेदवारलाई मत हाल्न नचाहेर खाली छाडिएको हुन सक्ने विश्लेषण यहाँ गरिएको छ।
मतदाता शिक्षाको अभावले पनि केही मात्रामा खाली मत हुन सक्ने भए पनि यति ठूलो संख्यामा मत खाली हुनु उम्मेदवार मन नपर्नु नै मुख्य कारण रहेको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले बताए। विश्वका कतिपय मुलुकमा ‘म कसैलाई मत दिन्नँ भन्ने’ अधिकार हुनेगर्छ। यहाँ मत दिन चाहँदिनँ भनेर उल्लेख गर्ने प्रावधान नभएकाले कोही पनि उम्मेदवार मन नपरेको अभिव्यक्त गर्न मत खाली छोडेको उनको भनाइ छ। ठूलो संख्यामा मतदाताले मत खाली छाड्नु लोकतन्त्रका लागि चिन्ताको विषय भएको उनको भनाइ छ। ‘भारतमै अन्ना हजारेले राइट टु रिजेक्टको कुरा उठाएका छन्, यसबारेमा यहाँ पनि सोच्नुपर्ने बेला भइसकेको छ,’ उनले भने।
विगतका चुनावमा एकजना उम्मेदवारलाई मात्र मतदान गर्नुपर्ने भएकाले कुनै पनि उम्मेदवारलाई मत दिन नचाहने मतदाता मत खसाल्न मतदान केन्द्र पुग्दैनथे। अहिले ७ जनालाई चयन गर्नुपर्ने भएकाले मतदाता मतदान केन्द्रसम्म गएर मन परेका उम्मेदवारलाई मात्र मत हालेको देखिएको छ। ‘एउटामा खाली राखेर बाँकीमा मत हाल्नु भनेको त्यो पदका कुनै पनि उम्मेदवार मन नपरेको भन्नु नै हो,’ कैलाली बार एसोसिएसनका पूर्वअध्यक्ष गंगाराम उपाध्यायले भने। उम्मेदवारमध्ये कोही पनि मन परेनन् भन्ने अधिकार कानुनी रूपमा नै स्थापित हुनुपर्ने आवाज पहिलेदेखि उठिरहेको उनको भनाइ छ। ‘राइट टु रिजेक्टको अधिकार हुनुपर्छ भनेर यसअघि नै सर्वोच्चमा रिट परेको थियो,’ उनले भने। अहिले खाली मत देखिएपछि राइट टु रिजेक्टको अधिकारका बारेमा बहस चलाउनुपर्ने उनको भनाइ छ।
दलका नेताहरूले नजिक र टाढाका आधारमा उम्मेदवार चयन गरेकाले कार्यकर्ता र समर्थकमा व्याप्त असन्तुष्टि खाली मतबाट व्यक्त भएको कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीको ठहर छ। धनगढी उपमहानगरपालिकामा कांग्रेस र एमालेमा टिकट वितरणलाई लिएर पार्टी वृत्तमै असन्तुष्टि थियो। असन्तुष्ट पक्षले पनि खाली मत छाडेको हुनसक्ने नागरिक समाजका अगुवा रविन पन्तले टिप्पणी गरे। कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले भने, ‘सबैतिर उल्लेख्य संख्यामा खाली मत पाइएकाले मतलाई बदर मान्ने कि के गर्ने भनेर छलफल गरिरहेका छौं।’
- नागरिक दैनिकबाट












