२२ असार, काठमाडौँ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विरामीको पत्थरी निकाल्ने भनी मिर्गौला झिकेको भनी पीडितले उठाएको विषयलाई राजनीतिक प्रतिशोधस्वरुप उठाइएको दावी गरेको छ । विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरी झिक्ने भनी मिर्गौला निकालिएको सम्बन्धमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै विरामी र उनका आफन्तलाई अप्ठेरोमा पार्ने चेतावनी दिएको छ । अप्रेसनहुनपूर्व गरिएको सम्झौतामा ज्यान गए पनि आपत्ति जनाउने छैनौं भनी विरामी पक्षले सहीछाप गरेको बताउँदै विषयलाई उचालेमा मिर्गौला झिकेपछि दिइने क्षतिपूर्तिसम्बन्धि सम्झौता रद्द गर्ने धम्की अस्पताल प्रशासनले दिएको हो ।
पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित भएपछि अस्पतालले विहीबार पत्रकार सम्मलेन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो । पत्थरीको शल्यक्रिया गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको विषय साँचो भएको भन्दै पत्थरीको शल्यक्रियाको क्रममा मिर्गौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने जोखिम रहेपछि परिवारकै सहमतिमा मिर्गौला झिकिएको स्पष्ट पारेको छ ।
विरामीको दुबै मिर्गौलामा पत्थरी भएकामध्ये देब्रे मिर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिक रहेको देखिएको बताउँदै शल्यक्रियाका नेतृत्वकर्ता वरिष्ठ युरोलोजिष्ट प्रा डा गुणकुमार श्रेष्ठले भने – “शल्यक्रिया अघि नै बिरामी र बिरामीका आफन्तलाई शल्यक्रिया जटिल र जे पनि हुन सक्ने भनी सम्झाएको, भवितव्यमा परी केही भएमा दोष दिने छैनौं भनी बिरामी र विरामीका आफन्तले सहिछाप तथा हस्ताक्षर गरेपछि शल्यक्रिया गरेका हौँ ।”
शल्यक्रिया गर्दा असामान्य अवस्थामा रहेका मिर्गौलाबाट अत्यधिक रक्तश्राव भई ज्यानै जानसक्ने परिस्थितिको सिर्जना भएपछि उपलब्ध वैज्ञानिक उपाय गर्दा पनि रक्तश्राव नरोकिएकाले परिवारकै सहमतिमा मिर्गौला झिकिएको उनले बताए।
रिमालको पत्थरी झिक्ने क्रममा मिर्गौला झिकेपछि अस्पताल प्रशासनले बिरामीका आफन्तसँग छ बुँदे सम्झौता गरेको थियो । तर, बिरामी र उनका आफन्तले मिर्गौला झिक्नुको कारणको माग गर्दै रु ५० लाख क्षतिपूर्ति माग गरेका छन् । आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप बिरामीले लगाउँदै आएका छन् ।
मिर्गौला झिक्नुको कारण आन्तरिक रक्तश्राव भनिए पनि अस्पताल र बिरामीका आफन्तबीच भएको छ बुँदे सम्झौता पत्रमा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचारशुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र विरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने तथा विरामीको जीवनबीमा गरिदिने उल्लेख छ ।
एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोखको अत्यधिक दुखाईपछि गत जेठ २२ गते उपचारका लागि उक्त अस्पतालमा भर्ना भएका थिए । जेठ २५ गते उनको शल्यक्रिया भएको थियो ।
रिमालले शल्यक्रिया गर्नुपूर्व चिकित्सकले यस विषयमा आफूलाई कुनै जानकारी नदिई मिर्गौला झिकेर आफन्तसँग गुपचुप गरेको सम्झौता मान्य नहुने भन्दै न्यायका लागि महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गराएका छन् ।
प्रहरी परिसरले आवश्यक कारवाही छिट्टै अगाडि बढाउने आश्वासन दिएको विरामीकी बहिनी भगवती रिमालले बताइन् ।
अस्पताल प्रशासनले भने मिलिसकेको कुरा सञ्चार माध्यममा आएको भन्दै विरामीसँग गरिएको सम्झौता रद्द गर्ने चेतावनी पनि दिएको छ । ‘‘ उहाँहरू अदालतमै गए पनि केही हुँदैन, हार मात्र हुने हो’’ अस्पतालका निर्देशक डा धर्मराज सुवेदीले भने ।
परिवारको पूर्ण सहमतिमा मिर्गौला झिकिएको हो, उक्त मिर्गौला हामीसँग सुरक्षित छ, बिरामीलाई पूर्ण निको पारी पठाइएको थियो, निर्देशक डा सुवेदीले भने, ‘‘तीन हप्तापछि अनेक माग राख्दै बदनाम गराउने र भौतिक आक्रमणको धम्की बिरामी र उनका आफन्तले दिइरहेका छन् ।’’
अस्पतालले उपचारका क्रममा कुनै प्रकारका लापरवाही नभएको र मिलिसकेको विषयलाई अहिले आएर उठाइनुमा राजनीतिक विषय जोडिएको दावी गरेको छ ।
तर अस्पताल र डाक्टरको कुनै गल्ती नै नभएको भए सो घटनामा विरामीका आफन्तलाई विभिन्न किसिमको क्षतिपूर्ति दिने सम्झौता अस्पताल प्रशासनले किन गरेको थियो भन्ने प्रश्न भने अस्पतालले दिएको छैन । अस्पतालले गरेको पत्रकार सम्मेलनले केवल घटनालाई थामथुम पार्ने र विरामीलाई धम्क्याउने मनसाय मात्र राखेको देखिन्छ ।












