२२ असार, सिक्किम । भारतको शासनसत्ता कति क्रुर छ भन्ने कुरा उसले आफ्नै नागरिमाथि गरेको नाकाबन्दीले प्रमाणित गरेको छ । छिमेकी देशप्रति सधैं अमानवीय व्यवहार गर्दै आएको भारत सरकारले आफ्नै नागरिकप्रति खाद्यान्न आपूर्ति बन्द गरेको हो । अधिकारको आन्दोलन चलिरहेको पश्चिम बंगालमा मात्र होइन नेपाली बाहुल्य रहेको सिक्किममा समेत खाद्यान्न आपूर्तिमा रोक लगाउँदै भारतले आफ्नै नागरिकमाथि नाकाबन्दी गरेको हो ।
गोर्खाल्याण्ड आन्दोलन चलिरहेको दार्जिलिङलगायतका पश्चिम बंगालका क्षेत्रदेखि अर्को राज्य सिक्किममा समेत भारतले अमानवीय व्यवहार गरेको छ । भारतको यो अमानवीय व्यवहारका कारण भारतले निलेको सिक्किममा समेत भारतविरोधी भावना बढ्न थालेको छ ।
आफ्नै देशको केन्द्रीय सरकारले सिक्किममाथि नाकाबन्दी गरेपछि सिक्किममा मुख्यमन्त्री पवन चाम्लिङ केन्द्र सरकारलाई चेतावनी दिएका छन् ।
मुख्यमन्त्री चाम्लिङले स्याडवीच हुनका लागि सिक्किम भारतमा गाभिएको होइन भन्दै केन्द्रीय सरकारप्रति उनले चेतावनी दिएका हुन् ।
चाम्लिङको यो चेतावनी बुधबार नाम्चीको चिसोपानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक भएको हो । मुख्यमन्त्री पवन चाम्लिङले एक कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा केन्द्र सरकारको नाकाबन्दीको चर्को विरोध गरे ।
उत्तरी सिमानामा चिनियाँ चलखेल अनि दक्षिणको सिलिगुडीमा सिक्किमका सवारी साधनमाथि प्रतिबन्ध गरिएको भन्दै चाम्लिङले आफूहरु दोहोरो मारमा परेको बताए । सिक्किम यसरी स्याण्डविच हुनका लागि भारतमा नगाभिएको मुख्यमन्त्री चाम्लिङले बताए ।
सिक्किमले अर्कोतिर चीन र भारत सीमामा भएको द्वन्द्वको मार खेपिरहेको छ । सिक्किमको सीमामा रहेका भारतीय सेनाका बंकर चिनियाँ सेनाले ध्वस्त पारेपछि सो क्षेत्र अहिलेसम्म तनावग्रस्त बनिरहेको छ ।
चाम्लिङले केन्द्र सरकारभन्दा पनि छिमेकी राज्य पश्चिम बंगालप्रति बढी आक्रोस पोखेका थिए । उनले भने चाइना र बंगालवीच स्याण्डविच हुनका लागि हामीले सिक्किम भारतमा गाभेका होइनौं ।’
सिक्किम भारतको २२ औं राज्य भएको उल्लेख गर्दै आफूहरुले सिक्किमलाई भारतमा गाभेर देशभक्ति देखाएको बताए । माथि चीन बोर्डरमा लडाइँ हुने आशंका छ । त्यहाँबाट पनि हामीलाई डर छ । तलबाट हामीलाई चामलै आउन दिइएको छैन ।
चीनको सिमानामा सिक्किमी जनताले विना तलवको सिपाहीजस्तो भएर देशको रक्षा गरिरहेको उनले उल्लेख गरे ।
चीनले भारतीय पर्यटकलाई मानसरोबर जान नदिएकाले सिक्किमको पर्यटन व्यवसायमा समस्या उत्पन्न भैरहेको छ । तर चाम्लिङले समस्या चीनको नभई आफ्नै देशबाट भएको उल्लेख गरे । भारतीय नाकाबन्दीले सिक्किमको पर्यटन व्यवसाय प्रभावित भएको उनले बताए । भारतीय पक्षले नै सिक्किमका सवारीसाधनमाथि रोक लगाएको र रासन पानी समेत बन्द गरेकोले यसबारे केन्द्र सरकारसँग कुरा गर्ने आश्वासन उनले दिएका थिए ।
खाद्यान्न बोकेर सिक्किमतिर जान लागेका सवारी साधनलाई सिलिगुडी प्रहरीले बाटैबाट फर्काइदिने गरेको छ । केन्द्र सरकारले आफ्नै जनतामाथि लगाएको यो नाकाबन्दी नेपालमा गरेको अघोषित नाकाबन्दी जस्तै भएको जनाइएको छ । किनभने, केन्द्र सरकारले सिक्किम र दार्जिलिङमा खाद्यान्न पठाउन रोक लगाएको घोषणा गरेको छैन तर प्रहरीले ती क्षेत्रतर्फ खाद्यान्न लैजान रोकेको छ ।
पश्चिम बंगाल सरकारले गरेको नाकाबन्दीप्रति भारतका विभिन्न दलले विरोध जनाएका छन् ।
भिडियो सौजन्य : एबिएन टिभी, सिलिगुडी












