२२ असार, इटहरी । धरान उपमहानगरमा ६० घण्टापछि विहीबार विहानदेखि मतगणना सुरु भएको छ । वडा नं ९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएका कारण समस्या उत्पन्न भएको थियो । वुधबार राति अबेरसम्म चलेको सर्वपक्षीय बैठकले निकास निकालेपछि विहीबार विहानैदेखि मतगणना सुरु भएको छ ।
प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद महतको सट्टामा अर्का मतदान अधिकृत कमल थापालाई नियुक्त गरी वडा नम्बर १ देखि ८ सम्म गनि सकिएको मतको पुनः रुजु गर्ने र गणना भइरहेको वडा नं ९, १० र ११ को मत पुनः गणना गर्ने सहमति भएपछि मतगणना सञ्चालन हुने पक्का भएको हो । अब कसैले पनि गल्ती दोहोरिन नदिनका लागि सतर्कता अपनाउने पनि सहमति भएको बताइएको छ ।
मतगणकका रुपमा रहेका दुई कर्मचारीले गरेको नियोजित गल्तीप्रति गम्भीर आपत्ति जनाउँदै आएको नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलको आग्रहमा ती कर्मचारीहरु हाललाई निलम्बित भएको बताइएको छ । तर उनीहरुलाई केकस्तो सजाय हुने हो भन्ने यकिन भइसकेको छैन ।
गणना भइसकेको वडाको नतिजाअनुसार वडा नं १ र २ मा नेपाली काँग्रेसले सबै पद जितेको छ भने ३, ४, ५, ६, ७ र ८ वडामा नेकपा एमालेले विजयी बनेको छ ।
धरान उपमहागनरको कुल ८० हजार मतदातामध्ये ५३ हजार ८१२ जना मतदाताले मात्र मतदानमा सहभागी भएका थिए ।












