२२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलका असन्तुष्ट पक्षलाई मन्त्रालयको भागवण्डा मिलाएर आज मन्त्रीमण्डल विस्तारको गर्दैछन् । कांग्रेसले पाउने १२ मन्त्रालयमध्ये रामचन्द्र पौडेल पक्षलाई ४ र सिटौला पक्षलाई १ मन्त्रालय दिने गरी देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा जुटका हुन् ।
पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो बुधबार देउवाले रामचन्द्र पौडेल पक्षसँग नाम मागेका थिए ।
तर पौडेल पक्षले कुनकुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि भने देउवा केही अलमलमै रहेका छन् ।
देउवाले पौडेल पक्षलाई ४ वटा र कृष्णप्रसाद सिटौलालाई एउटा मन्त्रालय दिने बताउनुभएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।
वर्तमान संयुक्त सरकारमा कांग्रेसले १२ वटा मन्त्रालय राख्ने माओवादी केन्द्रसँग सहमति भएको छ । देउवाले पार्टीभित्रको गुट व्यवस्थापन गर्न पौडेल र सिटौला पक्षलाई ५ वटा मन्त्रालय दिने र अन्य मन्त्रालय आफ्नो पक्षलाई दिने तयारी गरेका छन् ।
पार्टीभित्रको भागबण्डा मिलेमा प्रधानमन्त्री देउवाले आज बिहीबार मन्त्रीमण्डलको विस्तार गर्ने तयारी गरेका छन् ।












