२२ असार, काठमाडौं । मेलम्ची खानेपानीको पाइप गाड्ने क्रममा तहसनहस बनेका काठमाडौं उपत्यकाका सडक भत्काउने तयारी विद्युत प्राधिकरणले गरेको छ । विद्युतीय प्रसारण लाइन भूमिगत गर्न प्राधिकरणले उपत्यकाका सडक भत्काउन लागेको हो । तर, प्राधिकरणले मूल सडक नभएर पेटी मात्रै भत्काएर विद्युत् लाइन भूमिगत गर्न लागिएको समाचार आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्जआसपासका सडक भत्काइनेछ । मेलम्ची खानेपानी आयोजनाको जसरी मूल सडक नभत्काइने उनले बताए । मेलम्ची खानेपानी आयोजनाका कारण मूल सडकमात्र होइन सडक पेटीहरु समेत भत्काइएको छ ।
विद्युत् लाइन भूमिगत गर्ने योजनाका लागि एसियाली विकास बैंकले १५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
(प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जिपिएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत संकलन गर्नेछ । सँगै, ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् । स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ ।
(उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक छन् । पहिलो चरणमा २५ प्रतिशत प्रसारण लाइन भूमिगत गरिनेछ । जसअनुसार ९० हजार ग्राहकका घरमा जोडिने विद्युत् लाइन भूमिगत हुनेछ । एक वर्षभित्र प्राधिकरणले यो काम सम्पन्न गर्ने योजना बनाएको छ ।
(पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’अन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट जोडिएका लाइन भूमिगत गरिनेछन् ।












