२१ असार, काठमाडौं । लगभग समाप्त भएको दल राष्ट्रिय जनता पार्टी अन्ततः निर्वाचन आयोगमा समेत दर्ता हुन सकेन । नाममात्रैका ६ दल मिलेर गठन भएको राजपाभित्र फेरि आन्तरिक कलह सुरु भएका कारण निर्वाचन आयोगमा दर्ता हुन नसकेको हो । विनाशकाले विपरित बुद्धि भनेझैं मधेसका जनतालाई नाकाबन्दीमा उतारेर पहाडका जनताविरुद्ध नाकाबन्दी गरेका र सो नाकाबन्दीमा सहभागी नभएका मधेसी दलको एउटै नयाँ झुण्ठ बने पनि अन्ततः त्यो झुण्डभित्र नयाँ कलह सुरु भएको हो ।
वुधबार निर्वाचन आयोगमा राष्ट्रिय जनता पार्टी नामसहितको सो दल दर्ताका लागि तयारी गरे पनि आन्तरिक विवादका कारण दर्ता हुन नसकेको सोही दलका नेताहरुले जानकारी दिएका छन् ।
पार्टीको विधान र घोषणापत्र टुङ्गो लागे पनि अध्यक्ष मण्डलका सदस्यबीच विवाद कायमै रहेका कारण वुधबार दल दर्ता हुन नसकेको जनाइएको छ । विभिन्न दलका अध्यक्ष भएका र एकतापछि अध्यक्षमण्डलमा रहेका नेताहरुबीच नै टकराव देखिएको हो ।
शरतसिंह भण्डारीको दलका महासचिव हुँदै हाल सो दलका नेता रहेका केशव झाले भने “अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी र महेन्द्र राय यादवले दल दर्ताका लागि हस्ताक्षर गरिसक्नुभएको छ, पाँच जनामध्ये अन्य सदस्यले अहिलेसम्म किन गर्नुभएको छैन, त्यो उहाँहरूलाई नै सोध्नुपर्छ ।”
मधेसमा उपेन्द्र यादव र राजेन्द्र महतोको दुई कित्ता रहँदै आएको थियो । यादव निर्वाचनमा गएपछि आफ्नो दल ठूलो हुनसक्ने भएकोले महतोले एकता नचाहेको गोप्य स्रोतले जनाएको छ । महतो एक्लै मधेसमा गएर मत बटुल्ने चेतावनी दिएका छन् । महतोको यो घमण्डका कारण मधेसमा कुनै हैसियत नभएका राजकिशोर यादव र अनिल झा समेत हस्ताक्षर नगर्ने अवस्थामा देखिएका छन् । झा र यादवभन्दा महतो माथि हुन चाहन्छन् तर झा र यादव महतोभन्दा तल हुन चाहँदैनन् । यही कारण एकीकरण भएको नयाँ मधेसी दल पानीको फोका हुने हो कि भन्ने अवस्था देखिएको छ ।












