२१ असार, कालेबुङ भारत । भारतको पश्चिम बंगालमा जारी गोर्खाल्याण्ड आन्दोलनका क्रममा वुधबार भने कालेबुङमा दुई उग्र कार्य भएका छन् । तर यो कार्यक्रम आन्दोलनकारीले गरे या आन्दोलनलाई निस्तेज पार्न गरिएको षडयन्त्र हो भन्ने द्विविधामा रहेको छ । तर, रहस्यको विषय के छ भने वुधबार ममता बेजर्नीको पार्टी कार्यालयदेखि सरकारी यातायातको कार्यालय जलाउने कार्य विवादस्पद कालेबुङ जिल्लामै भएका छन् । दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनलाई निस्तेज पार्न पश्चिम बंगालकी मख्यमन्त्री ममता बेनर्जीले केही समयपहिले पहाडबाट कालेबुङलाई छुट्याएर बनाएको नयाँ जिल्ला बनाउने निर्णयप्रति आन्दोलनकारीको आपत्ति रहँदै आएको छ ।
वुधबार कालेबुङमा ममता बेनर्जीको पार्टी त्रिणमूल कांग्रेसको पार्टी कार्यालय जनाउनुको साथै राज्य सरकारले संचालन गरेको यातायात कार्यालयमा समेत आगो लगाइएको छ ।
कालेबुङ्गस्थित राज्य सरकारद्वारा संचालित उत्तर बङ्ग परिवहन सेवाको कार्यालयमा पनि आगो लगाइएको हो । यातायात कार्यालयमा आगो लगाएको जानकारी पाउनेवित्तिकै प्रहरी त्यसतर्फ हान्निएको थियो । मोटरसाइकलमा रफ्तारसाथ दौडिएको प्रहरी टोली आगो दन्किँदै गरेको अवस्थामा त्यहाँ पुगेको थियो ।
हेर्नुहोस् एक्स्क्युलिसिभ भिडियो :
प्रहरी त्यहाँ पुगे पनि आगो नियन्त्रणमा लिन समस्या परेको थियो । आगो निभाउन नसकेको प्रहरीले सर्वसाधारण कामदारमाथि समेत दुव्र्यवहार गरेको थियो । आगो कसले लगाएको थियो भनी सोधखोज गर्ने क्रममा ट्रक चालकमाथि समेत प्रहरीले चुटेको थियो । आगो लगाएको व्यक्तिबारे जानकारी नदिएको भनी प्रहरीले सर्वसाधारणमाथि लाठी वर्साएको थियो ।
हेर्नुहोस् सर्वसाधारणमाथि प्रहरीको ज्यादतिसम्बन्धि एक्स्क्युलिभ भिडियो :
केही समयपछि पुगेको अग्निनियन्त्रकले आगो निभाए पनि कार्यालयका सबै सामानहरु जलेर नष्ट भएका छन् ।
उत्तर बङ्ग परिवहन सेवा निगम कार्यालयले कालेबुङ्गबाट विभिन्न ठाउँहरूमा सार्वजनिक यातायातका बससहरूको सञ्चालन गर्ने गर्दछ। आगजनी कसले गरेको हो भन्ने रहस्य खुल्न सकेको छैन । आन्दोलनकारीले नै वुधबार त्रिणमूल कांग्रेसको कार्यलय जलाउनुका साथै यातायात कार्यलयमा आगो लगाएको जनाइएको छ । तर आन्दोलनलाई बदनाम गराउन घुसपैठ गरी यस्तो अराजक क्रियाकलाप भएको आन्दोलनरत पक्षको दावी छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बेनर्जीको पार्टी छाडेर आन्दोलनमा लाग्नेको लर्को
यसैबीच उत्तर बंगालमा ममता बेनर्जीको पार्टी परित्याग गरेर गोर्खाल्याण्ड आन्दोलनमा आउनेको लर्को लाग्न लागेको छ । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पार्टीबाट दार्जिलिङ गोर्खा पार्वत्य परिषदका पूर्वपार्षद, एनबी खवास ममता बेनर्जीको प्रलोभनमा लागेर त्रिणमूल काङ्ग्रेस पार्टीमा लागेका थिए । उनी दार्जिलिङ जिल्ला कमिटीको कार्यकारी सभापति पदमा रहेर काम गरिरहेका थिए। तर, उनले गोर्खाल्यान्डको समर्थन गर्दै पाटीबाट राजीनामा दिएका छन्।
त्यस्तै त्रिणमूल जिल्ला कमिटीकीउपसभापति परिसिमा गिरीले पनि पदबाट राजिनामा दिएकी छिन् । परिसिमा गोर्खा जनमुक्ति मोर्चाका नेता रोशन गिरीकी बहिनी हुन् । अर्कोतिर खर्साङ्ग त्रिणमूल कमिटिका उपसभापति मोहन लामाले समेत आफ्नो पदबाट राजिनामा दिएका छन् ।
बेनर्जीले आन्दोलनका नेताहरुलाई अनेक प्रलोभनमा फसाएको र आश्वासन दिएअनुरुप काम नगरेको आरोप आन्दोलनकारीको छ । गोर्खा समुदायबाट कांग्रेसमा सम्मिलितहरुले यही कारण क्रमशः उनको दल परित्याग गरिएको जनाइएको छ ।












