रुबेन गुरुङ
२१ असार, सिलिगुडी भारत । भारतको पश्चिम बंगालमा गोर्खाल्याण्ड आन्दोलन चर्किरहेको वेला वुधबार त्रिणमूल कांग्रेसको पार्टी कार्यालयमा आगजनी भएको छ । आन्दोलन चलिरहेको कालेबुङको मोटर स्ट्यान्डस्थित हिल त्रिणमूल कांग्रेसको पार्टी कार्यालयमा अज्ञात समूहले आगो लगाएर ध्वस्त पारेको छ । आन्दोलनलाई बदनाम गराउने प्रयासस्वरुप अज्ञात समूहले आगजनी गरेको प्रारम्भिक समाचारमा जनाइएको छ ।
पार्टी कार्यालयमा आगो लगाउने जत्थाले नजिकैको प्रहरी चौकीमा पुगेर प्रहरीमाथि खुकुरी प्रहार गरेको थियो । कालेबुङको मुख्य प्रहरी थानामा धावा बोल्दै अज्ञात समूहले ४ जना प्रहरीमाथि खुकुरी प्रहार गरेर घाइते बनाएको छ । घाइते प्रहरीहरूलाई उपचारका लागि सिलिगुडी नर्सिङ्ग होममा लगिएको छ।
यो घटनालगत्तै प्रहरीले स्थितिलाई शान्त पार्न प्रहरीले अश्रुग्यास प्रयोग गर्नुका साथै केही राउण्ड गोली समेत चलाएको छ ।
त्रिणमूल कांग्रेस पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको दल हो । हिल त्रिणमूल कांग्रेसको नेतृत्व पनि ममताले नै गरेकी छिन् । कालेबुङलाई केही समयपहिले मात्र नयाँ जिल्ला घोषणा गरिएको थियो ।
नेपाली भाषामा अध्ययन अध्यापनको माग गर्दै दार्जिलिङ, सिलिगुडी र कालेबुङलगायतका जिल्लामा गोर्खाहरुले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा १० दल र ५ वटा गोर्खाल्याण्ड समर्थक संगठनहरु संलग्न छन् । गत जुन २९ मा ३० जनाको आन्दोलन कोअर्डिनेसन कमिटी गठन गरिएको थियो र त्यसको नेतृत्व कल्याण देवानले गरिरहेका छन् ।
हेर्नुहोस् आगजनीको भिडियो :













