२१ असार, काठमाडौं । सडकविस्तारका कारण दुर्घटनामा परी यात्रुको मृत्यु हुने क्रम बढ्दै गएको अवस्थामा रातको समयमा यातायातका साधन आवागमनमा रोक लगाइने भएको छ । रातको समयमा पहिरोले सवारी साधन पुरिने गरेको र बढी खतरा रहेको भन्दै सो सडकमा साँझ ६ बजेदेखि विहान ५ बजेसम्म सवारी साधन आवागमनमा रोक लगाइने भएको हो । सवारी साधन आवागमनमा रोक लगाए पछि रातकै समयमा समेत सडक निर्माण गर्ने तयारी समेत सरकारले गरेको छ ।
यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिङ–नारायणघाट सडकमा सवारी आवागमन बन्द गरिने भएको हो।
‘चितवन प्रशासनसँग यस विषयमा छलफल सुरु गरिएको छ । विहीबार वा शुक्रबारदेखि रात्रि यातायात सेवालाई पूर्ण रूपमा बन्द गरिने जानकारी सडक विभागका उपमहानिर्देशक तथा मुग्लिङ–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले जानकारी दिए।
३ महिानामा ६ जनाको मृत्यु
सो सडकखण्डमा पहिरोका कारण यो वर्षको तीन महिनामा ६ जनाको ज्यान गइसकेको छ । देशकै सबैभन्दा धेरै ट्राफिक हुने यो सडकमा दैनिक १४ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ ।
राती सडक बन्द गर्न विकास समितिको निर्देशन
व्यवस्थापिका संसद्को विकास समितिले समेत मुग्लिन–नारायणगढ सडक डेढ महिनासम्म राति बन्द गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले सडक विस्तारका क्रममा आवागमन असहज हुनुका साथै नजिकै रहेका बस्तीमा पहिरोको जोखिम बढेको समितिले निष्कर्ष निकालेको छ ।
सो सडकखण्डमा थप सडक सुरक्षाको व्यवस्था गर्न निर्देशन समेत समितिले दिएको छ । त्यस्तै, सडकखण्ड विस्तारलाई द्रुतगतिमा लैजान र सन् २०१७ भित्रै निर्माण सम्पन्न गरिसक्न समितिले निर्देशन दिएको छ । समितिको यो निर्देशनसमेतलाई ध्यान दिँदै रात्रिकालीन सेवा पूर्णरुपमा बन्द गराई निर्माण कार्य गर्ने तयारी सरकारले गरेको हो ।












